लायन्सको गभर्नर बने तनहुँका अशोक कुमार श्रेष्ठ, को हुन् श्रेष्ठ ?

सुरेन्द्र पौडेल
पोखरा, ९ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा अशोक कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार र शनिबार पोखरामा सम्पन्न छैटौं महाधिवेशनबाट लायन वर्ष २०१८÷१९ का लागि श्रेष्ठ गभर्नर निर्वाचित भएका हुन् । कुल ७ सय ११ मत मध्ये श्रेष्ठले ६ सय ८१ मत पाए ।

यसैगरी फस्ट भाइस गभर्नरमा इन्दु लम्साल निर्वाचित भएकी छन् । सेकेण्ड भाइस गभर्नरमा मनबहादुर रोका विजयी भए । रोकाले प्रतिस्पर्धी मणिश्री रत्न बज्राचार्यलाई पराजित गरेका हुन् । रोेकाको पक्षमा ३ सय ७२ र बज्राचार्यको पक्षमा ३ सय ३५ मत आएको थियो ।
गभर्नरमा निर्वाचित भएसँगै श्रेष्ठले सबै लायन्सहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘मेरो कार्यकाल सफल बनाउन सबैबाट साथ र सहयोग पाउनेमा म विश्वस्त छु,’ उनले भने ।

 

गभर्नर निर्वाचित भएसँगै श्रेष्ठले डिष्ट्रिक्ट क्याबिनेट बनाएका छन् । उनले क्याबिनेटको महत्वपूर्ण पद सेक्रेटरीमा रामबहादुर बसेललाई नियुक्त गरेका छन् । ट्रेजररमा माधब बहादुर पन्त, चिफ एडभाइजरमा ध्रुव श्रेष्ठ र पिआओ इन चिफमा परमेश्वर पराजुलीलाई नियुक्त गरेका छन् । गभर्नर श्रेष्ठको कार्यकाल जुलाईबाट सुरु हुनेछ ।

कार्यक्रममा मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटी, बर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य लगायतले श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

को हुन् इलेक्ट गभर्नर श्रेष्ठ ?


सरल र मीलनसार व्यक्तित्व श्रेष्ठको जन्म सन् १९६३ मा तनहुँमा भएको हो । तनहुँको दमौली स्थायी घर भएका श्रेष्ठ सन् १९८८ मा लायन्स क्लब अफ तनहुँको चार्टर मेम्बर बनेका थिए । लामो समय लायन्स बनेर समाज सेवामा सक्रिय बनेका इलेक्ट गभर्नर श्रेष्ठले यस अगाडि फस्ट र सेकेण्ड भाइस गभर्नरको जिम्मेवारी कुशलतापूर्व बहन गरिसकेका छन् ।

क्लब सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै श्रेष्ठ लायन वर्ष १९९६÷९७ मा जोन चियरपर्सन बने । लगत्तैको वर्ष रिजनचियरपर्सन बनेका उनी त्यसपछि ४ पटकसम्म डिष्ट्रिक्ट चियरपर्सन बनेका श्रेष्ठ थिए । २ कार्यकाल चिफ एडभाइजर र २ कार्यकाल एडभाइजर बनेको अनुभव श्रेष्ठसँग छ । लगातार डिष्ट्रिक्टका विभिन्न जिम्मेवारीलाई पुरा गर्दै अगाडि बढेका श्रेष्ठ लायन्सका पुराना नेता मानिन्छन् ।

तनहुँ उद्योग वाणिज्य संघको २ कार्यकाल अध्यक्ष बनेका श्रेष्ठले अन्य विभिन्न सामाजिक संघसंस्थाको कुशल नेतृत्व प्रदान गरिसकेका छन् । विभिन्न व्यावसायिक प्रतिष्ठानको नेतृत्व गर्दै अगाडि बढेका श्रेष्ठ सफल उद्योगी तथा व्यवसायी हुन् ।

You might also like

Comments are closed.