पोखरा, ७ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पाँचौं महाधिवेशन अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न भयो । पाँचौं महाविधेशनको अघिल्लो दिन काठमाडौं पुग्ने लायन्स प्रतिनिधिलाई भ्याइनभ्याई थियो । उनीहरु निकै व्यस्त थिए । सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवारहरुले दुईतिर कक्टेल पार्टी आयोजना गरेका थिए । उम्मेदवारद्वय ईन्दु लम्साल र मणिश्रीरत्न बज्राचार्यले भोज र रक्सीमा मात्रै लाखौं रुपैयाँ खर्च गरे । त्यो उनीहरुको बाध्यता पनि थियो ।
अहिले पोखरामा लायन्सको छैटौं महाधिवेशन हुँदैछ । तर, परिस्थिति फेरियो । उम्मेदवारद्वय मनबहादुर रोका र मनिश्रीरत्न बज्राचार्यले गत वर्ष जस्तो खुल्लमखुल्ला भोजभतेर गरेनन् । किनकि, उनीहरुलाई आचारसंहिताले बाँध्यो । निर्वाचनका समयमा लायन्समा विकृति आएको भन्दै बर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यको सक्रियतामा आचारसंहिता बनाएको हो । उक्त आचारसंहिताका कारण अहिलेका उम्मेदवारहरुको खर्चमा समेत भारी कटौती भएकोछ ।
आचारसंहिता अनुसार वैशाख ६ गते साँझ ५ बजेपछि उम्मेदवारहरुले भोज गर्न पाएनन् । म्यासेज, सशामुहिक भेला गर्न नपाउनुका साथै उम्मेदवारहरुले नै महाधिवेशन हल वरपर व्यानर बोर्ड लगाउन नपाइने (आवश्यकता अनुसार डिष्ट्रिक्टले नै लगाउने) आचारसंहितामा उल्लेख छ । मतदातालाई प्रभावमा पार्ने गरी टोपी, टिसर्ट, व्याग, ज्याकेट तथा अन्य प्रचार सामग्री बाँड्न नपाइने लगायत विषय आचारसंहिताले संबोधन गरेको छ । महाविधेशनलाई व्यवस्थित बनाउन र तडकभडक रोक्न आचारसंहिता प्रभावकारी बनेको बताउँछन् गभर्नर आचार्य ।
Comments are closed.