आर्थिक आवाज/पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । लायन्सको सातौ महाधिवेशन यहि वैशाख १३ गते शुक्रबारदेखि पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ । वैशाख १४ गते शनिबारसम्म चल्ने महाधिवेशनको तयारी पुरा भएको महाधिवेशन मूल आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । लायन्स क्लब अफ पोखरा गण्डकीसहित पोखरामा क्रियाशील २६ वटा महिला लायन्स क्लबहरूको संयुक्त व्यवस्थापनमा महाधिवेशन हुन लागेको महाधिवेशन मूल आयोजक समितिका संयोजक बिमला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘तयारी पूरा भएको छ, अब उद्घाटनको प्रतिक्षामा हामी छौं ।’
महाधिवेशनमा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत करिब चार हजार लायन्सहरूको सहभागिता रहने अनुमान गरिएको छ । हालसम्म करिब २ हजार लायन्सहरुले सहभागिताका लागि प्रि–रजिस्ट्रेशन गरेको उनले जानकारी दिइन् । रजिस्टे«सन गर्ने कार्य शुक्रबारसम्मै चल्ने उनले बताइन् । पोखरास्थित विभिन्न २६ वटा महिला क्लबका अध्यक्ष, पूर्व अध्यक्ष, संयोजक र सह–संयोजक रहेको विभिन्न ३४ वटा उपसमितिहरूले आआफ्नो जिम्मेवारी बहन गरिरहेको मूल आयोजक समितिका सचिव विधाता श्रेष्ठ द्वाले जानकारी दिइन् । महाधिवेशन सम्पन्न गर्न करिब ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा सहभागी भएका प्रतिनिधिको दर्ता शुल्क तथा सरकार र विभिन्न संघसंस्थाबाट उठाइएको सहयोगबाट महाधिवेशनको खर्च व्यवस्थापन गरिने सचिव श्रेष्ठले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले यस पटकको महाधिवेशन ऐतिहासिक हुने बताए । पर्यटकीय नगरी पोखरामा हुनु र महाधिवेशन सम्पन्न गर्ने जिम्मा महिलालाई मात्रै दिइनुले पनि यसको ऐतिहासिकता पुष्टी हुने उनको भनाई छ । महाधिवेशनले पोखराको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनले बताए ।
पोखरामा हुने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको महाधिवेशनले गभर्नर पदमा ईन्दु लम्साल र फष्र्ट भाइस गभर्नर पदमा मन रोकालाई चयन गर्नेछ । यसअघि फष्र्ट भाइस गभर्नर रहेकी लम्साल गभर्नर पदमा र सेकेण्ड भाइस गभर्नर रहेका रोका फष्र्ट भाइस गभर्नर पदमा पदोन्नति हुन लागेका हुन् । लायन्समा गभर्नर र फस्र्ट भाइस गभर्नर पदमा चुनाव हुँदैन । सेकेण्ड भाइस गभर्नर फष्र्ट भाइस गभर्नरमा र फष्र्ट भाइस गभर्नर महाधिवेशनबाट सिधै गभर्नरमा पदोन्नती हुने सिस्टम छ । यद्वपि दुबैले महाधिवेशनमा विश्वासको मत अर्थात ‘एस भोट’ लिनुपर्नेछ ।
यस पटक सेकेण्ड भाइस गभर्नरमा भने दुई पोखरेली भिड्दैछन् । पोखरेली लायनहरु विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठ सेकेण्ड भाइस गभर्नर पदमा भिड्न लागेका हुन् । दुबैले उम्मेद्वारी दर्ता गरेर चुनावी अभियान पनि तिव्र बनाएका छन् । आचार्यलाई इमिडियट पाष्ट गभर्नर धनराज आचार्य, पाष्ट मल्टिपल काउन्सिल चेयर पर्सनहरु दीपक श्रेष्ठ, बालकृष्ण बुर्लाकोटी, राजन लम्साल, गिरिधारी शर्मालगायतले सर्मथन गरेको बताइन्छ । श्रेष्ठलाई वर्तमान गभर्नर अशोककुमार श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नरहरु ध्रुव थापा, युक्त प्रसाद श्रेष्ठ, गौतममान श्रेष्ठ, भुगोल शेरचन, पाष्ट मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठलगायतको समर्थन छ ।
Comments are closed.