लायन्सद्वारा दृष्टिविहिनलाई सेतोे छडी सहयोग

पोखरा, १८ पुस । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीले नेत्र हिन संघ कास्कीमा सेतो छडी बितरण गरेको छ । क्लबका संस्थापक अध्यक्ष सीता बराल र क्लबका सचिव सविता आचार्यको जन्मदिनको अवसर पारी २५ थान सेतो छडी बितरण गरेको हो ।

सेतो छडी वितरण कार्यक्रममा नेत्र हिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले दृष्टिविहिनलाई सेतो छडीको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यका साथ सेतो छडी वितरण गर्दै आएको बताए । उनले जिल्लामा दृष्टिविहिनलाई सेतो छडी विहिन नबनाउने र किन्न पनि नलगाउने नीति लिएको बताए । ‘सेतो छडी दृष्टिविहिनका लागि आँखा, आत्मबल र परिवार सबै हो,’ उनले भने, ‘जसरी एउटा बच्चाका लागि आमाको दुध अपरिहार्य आवश्यकता हो, दृष्टिविहिनका लागि सेतो छडी त्यस्तै आवश्यकता हो ।’

एउटा सेतो छडी नियमित प्रयोग गर्ने दृष्टिविहिनका लागि तीन महिनाका लागि मात्र प्रयोगमा आउने बताउँदै उनले संघले कार्यालयबाट सेतो छडी उपलब्ध गराउँदै आएको सो अवसरमा जानकारी दिए । सुवेदी अनुसार कास्की जिल्लामा मात्र दृष्टिविहिनको संख्या एक हजार ४४५ जना रहेको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी वान नेपालका सिनियर एड्भाईजर रामबहादुर बसेलले लायन्सले सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक भएको उल्लेख गरे ।

सेतो छडी वितरण कार्यक्रममा लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीकी अध्यक्ष विष्णु पराजुलीले दृष्टिविहिनलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने हेतुले सेतो छडी वितरण गरिएको बताईन । कार्यक्रममा डिष्ट्रिक ब्लड डोनेसन कमिट चेयरपर्सन चुडामणि बराल, क्लबका संस्थापक अध्यक्ष सीता बराल, प्रथम उपाध्यक्ष निर्मला आचार्य, सचिव सविता आचार्य, लगायतले दृष्टिविहिनका लागि सेतो छडी प्रदान गरिनु सराहनीय काम भएको उल्लेख गरेका थिए ।

You might also like

Comments are closed.