लुटपाट र पाकेटमार नियन्त्रणका लागि गाडीमापनि प्रहरी परिचालन गरिने

सन्देश श्रेष्ठ
पोखरा । कास्कीमा चाँडपर्व लक्षित गरेर गाडीमापनि प्रहरी परिचालन गर्ने भएको छ । यात्राका क्रममा गाडीमा हुनसक्ने लुटपाट तथा पाकेटमार नियन्त्रणका लागि गाडीमा सादा पोषाकका कर्मचारी परिचालन गरिने कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कास्की प्रहरीले दशैं, तिहारलगायतका चाँडपर्व लक्षित गरी करीब ५ सय जना प्रहरी परिचालन गर्ने भएको छ । दशंै, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरेर कास्की प्रहरीले साविक भन्दा झण्डै दोब्बर संख्यामा प्रहरी परिचालन गरेको हो । चाँडपर्व लक्षित गरेर प्रहरी परिचालन गर्न जिल्ला प्रहरी कार्यालयको जनशक्ति कम भएपछि प्रदेश प्रहरी कार्यालयबाट थप जनशक्ति मगाएर परिचालन गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

कास्की प्रहरीले गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने र बाहिरिने मुख्यमुख्य नाकाहरु, मुख्य मुख्य सडक तथा भीडभाड हुने बजार क्षेत्रहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ । त्यस्तै, वैंक, वित्तिय संस्था, बिजनेस कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर्स, सुन पसललगायतमापनि प्रहरी परिचालन गरेर निगरानी बढाइएको एसपी कार्कीले बताए । यसैगरी खसी, बोका, च्याङ्ग्रा भित्रिने नाकामा पनि प्रहरी परिचालन गरिएको उनले बताए ।

सुरक्षा ब्यबस्था चुस्त राख्नका लागि सादा पोषाक र बर्दीधारी पोषाक दुबै परिचालन गरिएको एसपी कार्कीले बताए ।

प्रहरीले चाँडपर्वको अवसरमा बन्द रहने सरकारी कार्यालयको पनि सुरक्षा दिने भएको छ । एसपी कार्कीले चाँडपर्वमा बन्द रहेका कार्यालयमा हुन सक्ने चोरी तथा तोडफोडलाई मध्यनजर गरेर निगरानी गर्न प्रहरी परिचालन गर्ने बताए ।

प्रहरीले चाँडपर्वमा घर फर्किने यात्रुहरुलाई लक्षित गरी पोखराका दुई ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । यात्रु बाहिरने मुख्य क्षेत्र पोखराको पृथ्वीचोक बसपार्क अगाडि र बागलुङ बसपार्कमा यात्रु सहायता कक्षा सञ्चालन गरिने एसपी कार्कीले बताए । यात्रु सहायता कक्षबाट ठगिएका यात्रु, सामान हराएका, टिकट नपाएका, पकेट मारिएका, सिट नभएपनि जबरजस्ती झुक्याएर गाडीमा बस्न बाध्य पारिएका, बढी भाडा लिएका, टिकट काटेरपनि सिट नपाएका, अलपत्र परेका यात्रुहरुलाई सहयोग गरिने उनले बताए । उनका अनुसार यात्राका क्रममा हुनसक्ने ठगी, पाकेटमार्ने, चोरीलगायतका हुनसक्ने सम्भावित दुर्घट्नालाई मध्यनजर गरी गाडीमासमेत सादा पोषाकका प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कास्की प्रहरीले चाँडपर्वमा हुने जुवातासलगायतका अवैध कार्यहरुको नियन्त्रण गर्नपनि निगरानी बढाएको छ । जुवातास खेलिरहेकालाई समातेर कार्वाही गर्ने, मुद्धा चलाउनेलगायतका कार्यहरु शुरु भइसकेको एसपी कार्कीले बताए ।

अनुगमनका लागि प्रहरीको पत्र

कास्की प्रहरीले चाँडपर्वको मौका छोपी सामान खरिद बिक्रीमा हुनसक्ने ठगी तथा कालाबजारी रोक्न कास्की प्रहरीले अनुगमनका लागि तीन ठाउँमा पत्राचार गरेको छ । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागलाई गत भदौ २५ गते पत्र पठाइएको एसपी कार्कीले जानकारी दिए । पहिले जिल्ला प्रशासन कार्यालयले गर्दै आएको अनुगमन अहिले आएर महानगरपालिकाले गर्नुपर्ने कानुन बनेपनि अनुगमन नहुँदा अन्यौलता छाएकाले अनुगमनका लागि पत्र लेखिएको उनले बताए । उनले भने,‘यस वर्ष न जिल्ला प्रशासन कार्यालयले तदारुकता देखायो, नत महानगरपालिकाले नै, दुबैलाई पटक÷पटक मौखिक आग्रह गर्दापनि अनुगमनका लागि तदारुकता नदेखाएपछि पत्र नै लेखेका हौं ।’ उनले अनुगमन नहुँदा अस्वाभाविक रुपमा मूल्य बृद्धि हुनसक्ने, अखाद्य वस्तुको प्रयोग बढ्ने, कालाबजारी र उपभोक्ता ठगिने समस्या हुने भएकाले दशैं अगाडि अनुगमनका लागि आग्रह गर्दै पत्र लेखिएको स्पष्ट पारे ।

You might also like

Comments are closed.