लेखनाथ महोत्सवको तयारी तिब्र, विविधताको महोत्सव बनाइने

आर्थिक आवाज
लेखनाथ, २१ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ गतेदेखि १६ गतेसम्म संचालन गर्ने १५औं संस्करणको लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । सम्पूर्ण उपसमिति आआफ्नो जिम्मेवारी अनुसारको कार्यसम्पादन गरिरहेको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

महोत्सवलाई विविधताको महोत्सव बनाइने संघले जनाएको छ । महोत्सवको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सवलाई यस वर्ष अझ बढि प्रभावकारी बनाउन सम्बन्धित निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार भएको कृषि प्रवद्र्धन उपसमिति, सूचना प्रविधि प्रदर्शनी उपसमिति र सहकारी तथा वित्तीय संघ सस्था समन्वय उपसमितिहरुको छुट्टाछुट्टै बैठकले महोत्सवलाई सफल पार्न आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सूचना प्रविधि उपसमितिका संयोजक बुद्धिप्रसाद बास्तोलाको संयोजकत्वमा बसेको भेलाले महोत्सवमा आउने दर्शकहरुको सुबिधालाई ध्यानमा राखी पहिलो पटक लेखनाथ महोत्सवमा सूचना र प्रविधिका लागि छुट्टै डोम तयार पारी आधुनिक प्रविधीका सम्वन्धी स्टल रहने भएको जानकारी दिएका थिए ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ सुरु हुन लागेको महोत्सवलाई यस वर्ष पनि कृषिका स्टलहरु राखेर स्थानीय कृषि उत्पादनको बिक्री वितरण र आधुनिक कृषि प्रविधीका वारेमा जानकारी गराइने भएको छ । कृषि प्रबद्र्धन उपसमितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको कृषि सञ्जालका संयोजकहरुको भेलामा संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका सुपरजोन कास्कीका प्रमुख बसन्त कुमार श्रेष्ठ, बेगानास मत्स्य अनुसन्धान केन्द्रका निमित्त प्रमुख डा. इकनाम हुसेन लगायतले कृषिका स्थानीय उत्पादनलाई बढवा दिदै आधुनिक कृषि प्रविधीलाई जोड दिने निर्णय गरिएको हो ।

शुक्रबारै सहकारी तथा वित्तीय संघ सस्था परिचालन उपसमितिका संयोजक विश्वराज लामिछानेको अध्यक्षतामा भएको भेलाले महोत्सव अवधिभर आर्थिक गतिविधीका क्रियाकलापहरुलाई प्रथामिकता दिदै यस भित्र रहेका सहकारीहरुले महोत्सव सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

You might also like

Comments are closed.