लेखनाथ महोत्सवको शान्ति सुरक्षालाई मजबुत बनाइने

आर्थिक आवाज
लेखनाथ । पुस ३ गते १५ गतेसम्म लेखनाथको तालचोकमा हुने १६औं लेखनाथ महोत्सव अबधिभर शान्ति सुरक्षाको व्यवस्थालाई मजबुत बनाइने भएको छ । महोत्सवमा आउने दर्शकहरुलाई सुरक्षाको प्रत्याभूति दिने र महोत्सव स्थलदेखि सडक सुरक्षाका बारेमा सबै तहका सुरक्षाका निकाय परिचालन गरी कुनै प्रकारका अबाञ्छित क्रियाकलापहरु गर्न नदिने र नियम विपरित गरिने कार्यलाई निरुत्साहित गरिने भएको हो ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले महोत्सव हुँदा सुरक्षाका सबै निकायहरु चनाखो रहने र शान्ति सुरक्षाको सवालमा प्रशासनको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । देशको आर्थिक विकासमा सहयोग गर्ने लक्ष्यसहित आयोजित महोत्सव सफल बनाउन सबै तहका सुरक्षा निकायको साथ रहने उनले बताए ।

कास्कीका प्रहरी प्रमुख दान बहादुर कार्कीले व्यवस्थित ढंगले महोत्सव संचालन गर्न कास्की प्रहरीको सहयोग रहने बताए ।

संघका अध्यक्ष बलराम ढकालले अहिलेसम्म भए गरेका कार्य तथा प्रगतिको विवरण प्रस्तुत गर्दै अनुशासनपूर्वक राज्यको नीति नियममा रहेर एकता कामय गर्दै महोत्सव संचालन गर्ने तयारीमा आफूहरु जुटिरहेका बताएका थिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष बावुराम गिरीले स्वागत मन्तव्य सहित विगतका महोत्सवमा भए गरेका अनुभव प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.