लेखनाथ महोत्सव जारी, ५ दिनमा ६ करोडको कारोबार

आर्थिक आवाज
लेखनाथ, ९ पुस । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सव जारी छ । महोत्सवको पाँचौं दिन सोमबार मात्र करिव १२ हजार दर्शकले मेला स्थलमा प्रबेश गरेको प्रचारप्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि सुरु भएको महोत्सवको पाँचौं दिनसम्म आइपुग्दा दिन प्रतिदिन दर्शकको चापसँगै आर्थिक कारोबारमा पनि बृद्धि हुँदै गएको आर्थिक संयोजक राजेन्द्र ओझाको बताए । उनका अनुसार महोत्सव स्थलमा सोमबार मात्र एक करोड बरावरको आर्थिक कारोबार भएको छ । अहिलेसम्म ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएकोे उनले बताए ।

बिहान १० बजेदेखि साझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि सुरुमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी ताराका प्रतिस्पर्धीको प्रस्तुती, साथका ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, हास्य प्रहश्न र साँझमा युवा युवतीहरुलाई लक्षित गर्दै राखिने पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बताए ।

महोत्सवको विभिन्न जातजातिको संस्कृति झल्कने गरि देखाइने साँस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार स्याङ्जाली तमु समाजको सोरठी नृत्य प्रस्तुत भएको थियो भने मंगलबार नेपाल मगर संघ कदममार्ग इकाई समिति पोखरा १४ को प्रस्तुती रहने भएको छ । महोत्सवको छैटौं दिन मंगलबार दोहोरीतर्फ मीलन लामा, प्रीति आले, घनश्याम रिजाल, मिरा पोख्रेल, प्रदीप त्रिपाठी, मिस्मा लामा, लाइभ पप कन्र्सटतर्फ राजेशपालय राई साथमा आरती सापकोटा र सुशील शिलवालको प्रस्तुति रहने महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.