‘लेखनाथ महोत्सव पर्वजस्तै हो’ (अन्तर्वार्ता)

भरतकुमार अधिकारी
महासचिव, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ महोत्सवको शुरुवात कसरी भयो ?
लेखनाथ महोत्सव आवश्यताले जन्माएको हो । तत्कालीन समयमा सरकारले ४ वटा गाविस मिलाएर लेखनाथ नगरपालिका बनायो । नगरपालिका त बन्यो, तर आर्थिक गतिविधी हुन सकेन । त्यसपछि हामी उद्योगी, व्यवसायीले सामाजिक तथा आर्थिक चलायमान गराउन आवश्यक ठान्यौं । त्यसका लागि कुनै संघसंस्था आवश्यक थियो । जसका लागि हामीले लेखनाथ उद्योग वाणिज्य संघ गठन ग¥यौं । संघले आर्थिक चलायमान गराउन केही न केही त गर्नै पथ्र्यो । सोही अन्तर्गत हामीले सुन्तला प्रदर्शनी ग¥यौं । यो तत्कालीन अवस्थामा आवश्यकताले निम्त्याएको हो । सुन्तला प्रदर्शनी पछि हामी उत्साही भयौं र २०६१ मंसिरबाट लेखनाथ महोत्सव शुरु ग¥यौं । यो अहिले पनि निरन्तर चलिरहेको छ र अहिले झन् यसको महत्व बढेर गएको छ । महोत्सवबाट किसानले बजार पाएका छन् भने उपभोक्ताले सहज र सस्तो रुपमा बस्तु किनमेल गर्न पाएका छन् । यो हिसाबले यो महोत्सव सफल छ ।

सुन्तला प्रदर्शनीबाट विकास भएको महोत्सवमा हाल सुन्तला कम देखिन्छ किन ?
हो, हामीले सुन्तलालाई चाहेरपनि महत्व दिन पाएका छैनौं । हामीले सुन्तला प्रदर्शनी गर्दा सुन्तला एकदमै धेरै फल्थ्यो । फलेका सुन्तला बोटमै कुहिएर फाल्नुपर्ने अवस्था थियो । किसानले ठेकेदारलाई बेचेको सुन्तलाको मूल्य पाउँदैनथे । त्यसबेला पूरै कास्कीलाई पुग्ने सुन्तला लेखनाथमा मात्र उत्पादन हुन्थ्यो । भरतपोखरी, थुम्की, रुपाकोटलगायतका क्षेत्रमा सुन्तला लटरम्म फल्थे । तर सँधै यस्तो कहाँ रह्यो र ? बिस्तारै सुन्तलाका बोटहरु मर्न थाले । सुन्तलाको उत्पादन घट्यो । अझ भनौं सुन्तला क्रमशः मासिन थाल्यो । त्यसैले अहिले उत्पादन घटेर माग नधान्ने अवस्थामा पुगेको छ । तरपनि हामीले लेखनाथ महोत्सवको यो संस्करणमा पनि सुन्तलाको स्टल भने राख्दैछौं । ताकि दर्शकले महोत्सव स्थलमै बसेर घाम ताप्दै सुन्तला खान सकोस्, आवश्यता अनुसार घर लैजान पाओस् ।

कृषि उपज खरिद बिक्री केन्द्र स्थायी हो कि अस्थायी ?
कृषि उपज खरिद बिक्री केन्द्र स्थायी प्रकारको हो । यो हरेक दिन खुल्छ । यहिंबाट कृषिजन्य उत्पादनको खरिद बिक्री हुन्छ । हामीले यो केन्द्रमार्फत कृषक र उपभोक्तालाई जोड्ने प्रयास गरेका छौं । यसबाट कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार पाउँछ भने उपभोक्ताले सहज रुपमा ताजा तथा अर्गानिक तरकारी सुपथ मूल्यमा पाउँछ ।

कृषिउपज खरिद बिक्री केन्द्र किन आवश्यक भयो ?
लेखनाथ कृषि भूमि हो । यहाँका अधिकांश परिवार कृषिमा निर्भर छन् । यहाँ उत्पादन भएका कृषिजन्य सामानले अझैपनि उचित बजार नपाउँदा किसानले मूल्य पाएका छैनन् । यता उपभोक्ताले पनि यहिं उत्पादन भएका सामान पनि बजार नहुँदा खरिद गर्न पाएका छैनन् । त्यसैले यी दुबैथरीका समूहलाई सम्बोधन गर्न हामीले कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गरेका हौं । यसका लागि पोखरा महानगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघको सहकार्य गरिएको हो । यसको एमओयु गरेर निर्माण सम्पन्न हुने क्रममा छ । यसका लागि १ करोड ९५ लाख रुपैयाँ लगानी भएको छ । केन्द्र निर्माणका लागि सांसद विकास कोषबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । महानगरले ५० लाख सहयोग गर्नेछ । अरु सहयोगी दाताबाट संकलन गर्नेछौं । हामीले पनि कृषि उपज खरिद बिक्री केन्द्रको स्वामित्व ग्रहण गर्दै संघको बचत रकमको केहि अंश यसैका लागि खर्च गर्दैछौं । यो निर्माणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बचन दिएको छ ।

महोत्सवको उपलब्धी के ?
महोत्सवबाट धेरै उपलब्धी भएको छ । कृषकले बजार पाएका छन् अनि उपभोक्ताले सहज रुपमा सस्तो सामान । स्थानीय उत्पादनले बजार पाएसँगै स्थानीयको आयआर्जनमा पनि बृद्धी भई आर्थिक उन्नतीमा पनि सघाऊ पु¥याएको छ । सामान खरिद बिक्री मात्रै होइन, महोत्सवबाट यस क्षेत्रमा के कस्ता सामान उत्पादन भएका छन् ? बाहिरका सामान के कस्ता आउँछन् ती सामान कसरी उत्पादन हुन्छन् ? उत्पादनका लागि केके चाहिन्छ ? यहि मेलाबाट जानकारी लिन सकिन्छ । यहिंबाट सिकेर उद्यमी पनि बन्न सकिन्छ ।

महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमप्रति दर्शकको प्रतिक्रिया कस्तो छ ?
महोत्सवमा हुने सांस्कृतिक कार्यक्रम महोत्सवको महत्वपूर्ण कडी हो । केही मानिस सामान किनमेलका लागि आउँछन् । केही मनोरञ्जनका लागि आउँछन् भने केही महोत्सवमा नयाँनयाँ कुरा हेर्ने र सिक्ने उद्देश्यले आउँछन् । यस मध्ये मनोरञ्जनका लागि आउने दर्शकका लागि सांस्कृतिक कार्यक्रम महत्वपूर्ण छ । केही सांस्कृतिक कार्यक्रम हेर्नका लागि मात्रै आउँछन् भने केही महोत्सव आइसकेपछि चर्चित कलाकारहरुको एकछिन भएपनि प्रस्तुती हेरेर दंग पर्छन् । यसले दर्शकलाई आनन्दसँगै स्फूर्ति पनि दिन्छ । लेखनाथमा अरुबेला खासै मनोरञ्जनका इभेन्ट नहुने भएकाले सांस्कृतिक कार्यक्रममा दर्शको आकर्षण राम्रो छ ।

महोत्सव सबैको बनाउनका लागि प्रयास कस्तो छ ?
महोत्सव लेखनाथबासीको हो । अझ भनौं यो समग्र ग्रेटर पोखरा र प्रदेशकै गर्व गर्ने महोत्सव हो । यसको नारा नै ‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन र सम्वृद्धि’ छ । स्थानीयलाई समेट्न स्थानीय उत्पादनलाई बढावा दिइएको छ । संस्कृति जगेर्नाका लागि यहाँका ब्राह्मणको भजन चुड्का, नेवारको लाखेलगायत जलारी, गन्धर्व, दुरा, गुरुङ, मगरलगायतका जातजातिहरुको हरेक दिन सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ । महोत्सवलाई लेखनाथबासीले ओनरसीप लिएका छन् भने सबै राजनीतिक दलहरुको पनि उत्तिकै सहयोग मिल्दै आएको छ । लेखनाथ महोत्सव हाम्रो पर्वजस्तै हो । राष्ट्रिय स्तरमा नै महोत्सवले छुट्टै पहिचान बनाएको छ ।

लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव किन भनिएको हो ?
लेखनाथ महोत्सवलाई सबैले मन पराई दिएकैले हो । लेखनाथ महोत्सव लेखनाथका स्थानीयबासी, पोखरा, रुपा, मादी, माछापुच्छ«्रे र अन्नपूर्ण गाउँपालिका मात्रै होइन तनहुँ, पर्वत, स्याङ्जालगायतका क्षेत्रबाट पनि आउँछन् । यसको मतलव लेखनाथ महोत्सवमा दर्शकको विशेष रुची छ । त्यतिमात्र होइन अन्य ठाउँका महोत्सव खाली खाली भइरहँदा पनि लेखनाथ महोत्सवमा दर्शकको भीड लाग्ने गर्छ । महोत्सवको पनि महोत्सव बन्नुमा अन्यपनि कारण छन् । महोत्सवमा सबै किसिमका सामान पाउनु यसको अर्को महत्वपूर्ण विशेषता हो । महोत्सव अयोजना गर्दा हामी लेखनाथ क्षेत्रका विभिन्न संघ संस्था, क्लब तथा आमा समूहसँग सहकार्य गर्छौं । सबैलाई समेटेर अगाडि बढ्छौं । सबैलाई महोत्सव हाम्रो पनि हो भन्ने अपनत्व गराउँछौं । सबैलाई सँगसँगै परिचालित गर्छौं । सबैको एकताका कारण महोत्सवले पूर्ण सफलता पाउँदै आएको छ । यी सबै हिसाबले लेखनाथ महोत्सव देशकै उत्कृष्ट महोत्सव बन्न सफल भएको छ । त्यसकारण हामी यसलाई महोत्सवको पनि महोत्सव भन्छौं ।

महोत्सवको अन्य विशेषता के–के छन् ?
शुरुमा क्रेता र बिक्रेतालाई मात्र माध्यम बनाएर सुन्तला प्रदर्शन ग¥यौं । त्यसबाट हौसिएर लेखनाथ महोत्सव शुरु गरेका हौं । शुरुमा रमाइलो मेलाको रुपमा महोत्सव गरेका थियौं । तर अहिले धेरै कुराहरुलाई समेट्न थालेका छौं । विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्ने गरेका छौं । गायन तारा महोत्सवको एउटा छुट्टै विशेषता हो । यसले वर्षेनी नयाँ प्रतिभा जन्माउन मद्दत गरिरहेको छ । हामीले नयाँ तथा नविनतम प्रविधिलाई पनि स्थान दिएका छौं । पोखरा विश्वविद्यालयको इञ्जिनियरिङ युनिट, पश्चिमाञ्चल क्षेत्रीय इञ्जिनियरिङ क्याम्पससँगको सहकार्यमा शैक्षिक प्रर्दशनी पनि गर्दैछौं । सूचना प्रविधिको क्षेत्रमा आएका नयाँँनयाँ सामानको वारेमा पनि जानकारी लिने दिने स्थल महोत्सव भएको छ ।

स्टल व्यवस्थापन कसरी गर्नु भएको छ ?
स्टल शत प्रतिशत बुकिङ भएका छन् । अझ सबै स्टलमा सामान राखिसकिएको छ । हामी कुन क्षेत्रलाई कति स्टल दिने भन्ने कुरा पहिले नै निर्धारण गर्छौं । स्टललाई व्यवस्थित बनाएका छौं । कृषि, अटो, सूचना प्रविधि, गार्मेन्ट, हस्तकला, फुटवेयर, औद्योगिक घरानाबाट आउने कर्पोरेट लाइनका स्टल, बैंक तथा वित्तीय संस्था लगायतका स्टल छन् । खाना तथा खाजाका स्टल पनि छन् । बाल उद्यान पनि अर्को आकर्षणको केन्द्र बन्नेमा हामी ढुक्क छौं । यी स्टलमा धेरै जसो स्थानीय उत्पादनका सामान छन् । स्थानीयलाई हामीले प्राथमिकता दिएका छौं ।

महोत्सवको कति मानिसले अवलोकन गर्ने अनुमान गर्नु भएको छ ?
महोत्सवको करीब ३ लाख दर्शकले अवलोकन गर्ने हाम्रो अनुमान छ । महोत्सवमा करिब १५ देखि २० करोड रुपैयाँ बराबरको कारोबार हुन्छ भन्ने हामीलाई विश्वास छ । महोत्सवको वास्तविक उद्देश्य नाफा कमाउनु नभई उत्पादनको प्रवद्र्धन गर्नु नै हो । क्रेता र बिक्रेताको बिचमा सम्वन्ध स्थापना गर्नु हो । बजार नपाएका बस्तुको पहिचान गर्न महोत्सव सफल हुनेमा हामी ढुक्क छौं ।

You might also like

Comments are closed.