लेखनाथ महोत्सव पुस पहिलो साता, तयारी तिब्र

लेखनाथ, ११ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुसमा हुने लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ नाराका साथ पुस ३ देखि १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव हुँदैछ ।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बलराम ढकालले बताए । ‘स्थानीय उत्पादनको पहिचान गर्दै स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्नु महोत्सवको लक्ष्य हो,’ ढकालले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने गर्दै आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्न महोत्सव सफल हुनेछ ।’ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुने ढकालले बताए ।

१५ करोड रुपैयाँ कारोबार हुने लक्ष्य

महोत्सवमा ३ सय ३६ स्टल रहने महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । जसमध्ये ६० प्रतिशत भन्दा बढी स्टल बुकिङ भइसकेको उनले बताए । २ लाख ५० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ । १२ देखि १५ करोड रुपैयाँ महोत्सवमा आर्थिक कारोवार अनुमान रहेको संघका उपमहासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । १ करोड ३० लाख रुपैयाँ आम्दानी गरी १ करोड १० लाख रुपैयाँ खर्च कटाउँदा २० लाख रुपैयाँ बचत गर्ने संघको लक्ष्य छ । बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले बताए ।

महोत्सवमा विविध कार्यक्रम

महोत्सवकै अवसरमा पुस १ गते कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ, कविशिरोमणि जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ लायन्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुनेछ ।

पुस २ गते कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता हुनेछ । प्रतियोगिताबाट छनौट भएका ७ जना स्रष्टाहरुको कविता महोत्सवको समयमा एक एक दिन बाचन गरि पुरस्कार बितरण गरिनेछ । लेखनाथ उद्योग वाणिज्य संघ, कविशिरोमणि जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठान संयुक्त आयोजनामा उक्त कार्यक्रम हुनेछ ।

विद्यालय स्तरिय उत्कृष्ट नृत्य कार्यक्रम, लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत गण्डकी तारा प्रतियोगिताका हालसम्म पुरस्कृत बिजेता कलाकारहरुबाट विशेष प्रस्तुति, रत्यौली गीत प्रतियोगिताबाट हालसम्म पुरस्कृत समूहहरुबाट विशेष प्रस्तुति महोत्सवका आकर्षणमा पर्ने आयोजकको विश्वास छ ।

शैक्षिक प्रदर्शनी अन्तर्गत पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, पश्चिमाञ्चल इ.कलेज तथा माध्यामिक विद्यालयहरुबाट शैक्षिक प्रदर्शनीहरु प्रदर्शन गरिनेछ । विभिन्न आधुनिक सूचना तथा प्रविधि सम्वन्धी गतिविधिको प्रदर्शनीसमेत महोत्सवमा गरिनेछ ।

जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा/महिला समूहहरुको आफ्नो झाँकी ¥याली तथा भेषभुषा प्रदर्शनी पनि महोत्सवमा समावेश गरिने कोषाध्यक्ष जानुका अधिकारीले जानकारी दिइन् । युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्टलाई यस वर्ष पनि जोडिएको संघले जनाएको छ । यस वर्ष स्टेज कार्यक्रमहरुलाई पाँच खण्डमा तयार गरी समय तालिका अनुसार संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव प्रचार प्रसारका लागि मनोरन्जनात्मक कार्यक्रमहरु लिएर कलाकारहरु सहित विभिन्न स्थानहरुमा गई निमन्त्रणा गरिने अध्यक्ष ढकालले जानकारी दिए ।

‘राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, फुड फेस्टिवल पनि महोत्सवको आकर्षण बन्नेछ,’ ढकालले भने ।

मुख्य प्रायोजकमा एड्भान्सको साथ

महोत्सवको मुख्य प्रायोजन एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले गरेको द्वितीय उपाध्यक्ष एवं प्रायोजक व्यवस्थापन उपसमिति संयोजक राजेन्द्र ओझाले जानकारी दिए । बिगत १३औं महोत्सवदेखि एड्भान्स सिमेन्टले महोत्सवको मुख्य प्रायोजन गर्दै आइरहेको छ । सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंकले साथ दिएको उनले बताए ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा महोत्सव हुन लागेको प्रथम उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीनाथ भण्डारीले लेखनाथ महोत्सव नेपालभरका महोत्सवमा उदाहरणीय बन्न सफल रहेको बताए । ‘महोत्सवमा पर्यटकीय गतिविधिलाई बढाउन आवश्यक छ,’ उनले भने ।

You might also like

Comments are closed.