लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै अब्बल आयोजना

 

पोखरा ।कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजना देशकै नमूना आयोजना बनेको छ । २०५८ सालमा स्थापित यो खानेपानी आयोजना देशकै नमूना खानेपानी आयोजनाका रुपमा स्थापित भएको हो । यो आयोजना यस अर्थमा नमूना बनेको छ कि यो जनताका लागि जनताकै लगानीद्वारा स्थापित र सञ्चालित आयोजना हो । अर्थात लेखनाथमा खानेपानी आपूर्ति गर्ने यो स्थानिय जनताका लागि जनताको लगानीमा जनताद्वारा नै सञ्चालित आयोजना हो । र यसले स्थापनाको छोटो समयमै आफूलाई देशकै अब्बल अयोजनाका रुपमा स्थापित गर्न सफल भएको छ ।

लेखनाथ सहरी खानेपानी आयोजनालाई नेपाल सरकारले उत्कृष्ट ठह¥याउँदै २ पटक पुरस्कृत गरिसकेको छ । उसो त यस आयोजनालाई दक्षिण एसियाकै उत्कृष्ट ब्यबस्थापनमा सञ्चालित भई सेवा दिइरहेको भन्दै साउथ प्यासिफिक वाटर म्यानेजमेन्टलेसमेत पुरस्कृत गरेको आयोजनाले जनाएको छ ।

लेखनाथ साना सहरी खानेपानी आयोजना अन्तर्गत साना सहरी मोडेलमा ५० प्रतिशत सरकार र ५० प्रतिशत स्थानियको लगानी रहेको छ । त्यस्तै सह लगानी मोडेलमा ७० प्रतिशत सरकार र ३० प्रतिशत स्थानिय तथा जलवायु अनुकुलित आयोजनामा ९० प्रतिशत सरकार र १० प्रतिशत स्थानिय जनताको लगानी रहेको छ । सरकार र जनताको सहकार्यमा स्थापित भएपनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएदेखि लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत आयोजना सञ्चालित छ ।

लेखनाथ साना सहरी खानेपानी आयोजनाले ‘मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी’ भन्ने मुख्य नारासहित लेखनाथ क्षेत्रमा खानेपानी वितरण गर्नेगर्दछ । लेखनाथको गिउजे मुहान र लेखनाथका विभिन्न ६ ठाउँबाट बोरिङ गरेर यसले दैनिक ९ हजार ७ सय ७४ घनमिटर पानी उत्पादन गरेर लेखनाथबासीलाई वितरण गर्नेगरेको आयोजनाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उनका अनुसार आयोजनाले दैनिक मूल सतको पानी ४ हजार १ सय ७ घनमिटर र बोरिङको पानी ५ हजार ६ सय ६८ घनमिटर उत्पादन गर्ने गर्दछ ।

लेखनाथ सहरी खानेपानी आयोजनाले सरकारी तथ्याङ्क अनुसार ७१ हजार ८ सय ६२ व्यक्तिलाई खानेपानी वितरण गर्छ । तर आयोजनाले भने त्यसको दोब्बर भन्दा बढी अर्थात डेढ लाख मानिसलाई पानी वितरण गर्दै आएको दाबी गरेको छ । आयोजनाले समुन्द्री सतहको ७५० मिटरदेखि ११८० मिटरको उचाईसम्मका लेखनाथबासीलाई खानेपाी वितरण गर्दै आएको अध्यक्ष बरालले जानकारी दिए । आयोजनाले पानीको गुणस्तर क्षमता २५ एनटियूको रहेको जनाएको छ भने यो नेपाल स्ट्याण्डर्डको रहेको आयोजनाको दाबी छ । पानी शुद्धिकरणकालागि आयोजनाले अत्याधुनिक फिल्टरको प्रयोग गर्नुका साथै रफिङ फिल्टरसमेत राखेको, पानी शुद्धिकरण गर्न क्लोरिनको प्रयोग गरिरहेको, पानीको गुणस्तर मापनका लागि ल्याव स्थापना गरेकोलगायतका प्रयास गरिएको जनाइएको छ ।

हाल झण्डै एक अर्ब लगानी भइसकेको दाबी गरिएको आयोजनाले वार्षिक २ करोड भन्दा बढी मुनाफा गर्दै आएको छ । यस वर्षपनि २ करोड १४ लाख ५१ हजार १ ५४ रुपैयाँ मुनाफा भएको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराई (रक्षा)ले जानकारी दिईन् ।

आयोजना अन्य हिसाबले सफल भएपनि पानीको चुहावट रोक्न भने कामयावी बन्न सकेको छैन । आयोजनामा हाल पानीको चुहावट ३५ प्रतिशत रहेको अध्यक्ष बरालले जानकारी दिए । अघिल्लो वर्ष भन्दा पानीको चुहावट ११ प्रतिशतले बढी भएको उनको भनाई छ । पानीको पाइपबाट आधा भन्दा बढी र केहि ठूला भनौदा उद्योगी र व्यवसायीले पानी चोर्दा चुहावटको मात्रा बढी भएको उनको भनाई छ । यसलाई घटाउनका लागि अनुसन्धान भइरहेको र अनुसन्धानपछि कदम चालिने उनले बताए ।

आयोजनाले डिजिटल प्रविधिबाट महशुल तिर्ने ब्यबस्था मिलाएको छ ।

आयोजनाले पानीको श्रोत थप्न मादी, ईदी, थाक र चिप्लीबाट पानी ल्याउने तयारी गरेको छ । तर यसका लागि स्थानिय तह, प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने आयोजनाका निवर्तमान अध्यक्ष बोधराज लामिछानेले बताए ।

You might also like

Comments are closed.