लोपोन्मुख पदयात्रा प्रवद्र्धन गर्दै टान

पोखरा, २७ बैशाख ।

ट्रेकिङ व्यवसायीहरुको संस्था टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । पुराना पदयात्राको संरक्षण तथा नयाँ पदयात्राहरुको खोजी अभियानमा टान रहेको अध्यक्ष दीपकराज अधिकारीले बताए । ‘प्रशिद्ध पदयात्राहरुमा मोटरबाटो पुगेपछि नयाँ नयाँ वैकल्पिक रुटहरुको खोजी अनिवार्य भएको छ,’ उनले भने, ‘सरकारको मुख नताकि हामी आफै पदयात्रा संरक्षण र नयाँ पदयात्राको खोजीमा अगाडि बढेका हौं ।’

यसैक्रममा टानको एक टोलीले एकदिने पदयात्रा गरेको छ । मनास्लु हिमाल आरोहणको ६२औं वर्षको अवसरमा टान टोलीले बुधबार मेलबोट, अस्ताम, ह्याङजाकोट हुँदै धम्पुससम्म पदयात्रा गरिएको हो । पदयात्रामा टानमा आबद्ध व्यवसायी, अन्य पर्यटन व्यवसायी, पत्रकार तथा विदेशी पर्यटक सहभागी थिए । उक्त पदयात्रालाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य अनुसार पदयात्रा गरिएको सचिव सुशील पौडेलले जानकारी दिए । लोपउन्मुख पदयात्राको प्रवद्र्धनका साथै पर्यटकीय गन्तव्यहरुको बजारीकरणमा टान सक्रिय रहेकोे उनले बताए ।

उक्त पदयात्रामा व्यावसायिक रुपमा पर्यटक पठाउन सकेमा पोखरा आउने पर्यटकको बसाईं एकदेखि दुईदिनसम्म बढाउन सकिने टानका उपाध्यक्ष एवं अस्तामस्थित इकोभिलेज रिसोर्टका सञ्चालक विश्वराज अधिकारीले बताए । पर्यटकको स्वागतका लागि ह्याङजाकोट लगायतका ठाउँमा होमस्टे सञ्चालन गरिएको स्थानीय समाजसेवी खड्गबहादुर गुरुङले जानकारी दिए । उक्त रुटको संरक्षण तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा स्थानीय तहबाट सक्दो सहयोेग गर्ने माछापुच्छ«े गाउँपालिका वडा नं. ६ का अध्यक्ष हरिशचन्द्र ढुंगानाले प्रतिबद्धता व्यक्त गरे ।

पदयात्रामा सहभागी टोलीले ह्याङजाकोट तथा धम्पुसमा अन्तरक्रिया गरेको छ । धम्पुसमा आयोजित अन्तरक्रियामा बोल्दै सेन्चुरी पर्यटन व्यवसाय समितिका अध्यक्ष दलबहादुर गुरुङले माछापुच्छ«े गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य धम्पुस र धिताल रहेको बताए । ‘धम्पुस, धिताल लगायतका ठाउँको पर्यटन प्रवद्र्धनमा व्यवसायी लगायत सरोकारवालाहरु एकजुट हुनुपर्छ,’ उनले भने । कार्यक्रम संयोजक विश्वहाङ राईले पदयात्रा पछि उक्त रुटमा व्यावसायिक रुपमा पदयात्रा गर्ने क्रम बढ्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कार्यक्रम भएको हो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...