वडा तहमै विवाद समाधान गर्न मेलमिलाप केन्द्र

आर्थिक आवाज
पोखरा, १ पुस । पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो । पोखरा महानगर न्यायिक समितिले आइतबार वडा नम्वर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुवात गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गरिन् ।

वडा तहमा हुने विवादलाई वडा तहबाटै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको उनले बताइन् । ‘वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएका छौं,’ उनले भनिन्, ‘विवाद समाधानमा सहज हुनेछ ।’ स्थानीय तहमा हुने विवादलाई स्थानीय तहमै समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको उनले बताइन् ।

कार्यक्रममा महानगर न्यायिक समितिका उजुरी प्रशासक नारायण शर्मा र अभिलेख संरक्षक राममणि अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधार लगायत न्यायिक समितिसँग सम्वन्धि विषयमा जानकारी गराएका थिए । मेलमिलापकर्ता समाज कास्कीका अध्यक्ष सोम श्रेष्ठले मेलमिलाप मार्फत विवाद समाधान हुँदा मन माझिने बताए । मुद्धा मार्मिलाबाट कटुता हुने भएकाले मेलमिलापबाट दुवैले जित्ने उनले बताए ।

कार्यक्रममा न्यायिक समिति सदस्य किशोर बरालले कार्यक्रमका बारेमा जानकारी गराउँदै पोखराका ३३ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिने बताए । कार्यक्रम वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको थियो भने संचालन महानगर कानुन महाशाखाका सोम लम्सालले गरेका थिए ।

पोखरा महानगरको न्यायिक समितिले पछिल्लो समय गति लिएको छ । ८८ जना मेलमिलाकर्ता छनोट गरेको छ । वडामा मेलमिलापक केन्द्र स्थापना गर्न तिन जना मेलमिलापकर्ता हुनेपर्ने ब्यवस्था रहेको छ । वडा नम्वर ७ मा कल्पनाकुमारी भण्डारी, केशवराज बराल, लिलाबल्लौ न्यौपाने मेलमिलापकर्तामा सुचिकृत भएका छन् । उनीहरुलाई कार्यक्रममा मेलमिलापकर्ताको परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङले हस्तान्तरण गरिन् ।

महानगरले न्यायको पहुँच घर घरमा पु¥याउँने उद्देश्यले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गर्दै मेलमिलाप मार्फत विवाद समधान गरिरहेको छ । मेलमिलापकर्तालाई सूचिकृत भएको पत्र हातमा थमाए लगत्तै विवाद समाधानका लागि अगाडी बढेको समितिले महानगरमा पनि मेलमिलापकर्ता मार्फत विवाद समाधान, इजालसबाटै छलफल, सुनुवाई र आदेश सुरु गरेको महानगरले अव वडाबाटै विवाद समाधानका लागि मेलमिलापक केन्द्र स्थापनाको काम अगाडी बढाएको हो ।यसैवीच उपप्रमुखसंग महिला कार्यक्रम बारे वडा नम्वर ७ का महिलाहरुसंग आइतबार छलफल भएको छ । महिलाका लागि उपप्रमुखसंग महिला कार्यक्रमले ल्याएको कार्यक्रम र योजना बारे छलफल भएको थियो ।

You might also like

Comments are closed.