वर्कशप खोल्ने तयारी गर्दै हुनुहुन्छ ? यसरी पुरा गर्नुस सुरक्षाका मापदण्ड

लकडाउन केही खुकुलो हुँदैछ । धेरै प्रकारका सवारी साधन सडकमा गुड्न थालेका छन् । यो अवस्थामा विस्तारै सवारी साधन मर्मत गर्ने सर्भिस सेन्टर र वर्कशपहरु पनि खुल्दै जाने छन् । तर वर्कशपहरुले कोरोना भाइरस संक्रमण रोक्नका लागि सुरक्षाका मापदण्ड अपनाउनु आवश्यक छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटो मेकानिक्स व्यवसायी संघले पहिले नै यसका लागि आवश्यक मापदण्ड निर्धारण गरी सार्वजनिक गरिसकेका छन् । त्यसैगरी होन्डालगायतका विभिन्न कम्पनीहरुले पनि आफ्नो सर्भिस सेन्टरमा अपनाउनु पर्ने मापदण्ड सार्वजनिक गरेका छन् ।

वर्कशप संचालकहरु आफैले पनि वर्कशपमा सुरक्षाका मापदण्ड अपनाउनका लागि आवश्यक पहल गर्नु आवश्यक छ । ग्राहक र आफ्नै सुरक्षाका लागि समेत यस्ता मापदण्ड अपनाउनु उपयुक्त हुन्छ ।

वर्कशपको वातावरण सफा र सुरक्षित राख्न समय समयमा किटनाशक प्रयोग गर्नुपर्छ । त्यसैगरी काम गर्ने मेकानिक्स तथा टेक्निसियनहरु बीचमा सामाजिक दुरी कायम राख्नुपर्छ । मेकानिक्सहरुले समय समयमा स्वास्थ्य जाँच गरी सकेसम्म उनीहरुलाई वर्कशपमा नै खाने वस्ने व्यवस्था मिलाउनु पर्छ । त्यसो गरिएमा बाहिरी सम्पर्कबाट उनीहरुलाई सुरक्षित र संक्रमण सर्ने सम्भावना न्यून हुन्छ ।

यसबाहेक समय समयमा सावुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने र मास्क जस्ता अत्यावश्यक सामग्री प्रयोग गर्न हेलचेक्क्र्राई गर्न हुँदैन ।

वर्कशपको वातावरणमार्फत सेवाग्राहीलाई प्रभावित पार्न सकियो भने ग्राहक आश्वस्त भई पुनः सेवा लिन आउने अवस्था बढ्छ । यसका लागि वर्कशप सञ्चालकहरुले निकै सावधानी अपनाउनु जरुरी हुन्छ ।

लोकल भन्दा आधिकारिक वर्कशप उपयुक्त
असंगठित तरिकाले खुलेका लोकल वर्कशप भन्दा कम्पनीको आधिकारिक सर्भिस सेन्टर मार्फत मर्मत सम्भार गराउनु उपयुक्त हुन्छ । यसो भन्दा सबै लोकल वर्कशप असंगठित र भद्रगोल वातावरणमा सञ्चालित भएका हुन्छन् भन्न खोजिएको हैन । आधिकारिक वर्कशपमा कम्पनीको नियम लागु हुने हुँदा सुरक्षित मानिन्छन् । यस्ता वर्कशपको पूर्वाधार एवं वातावरण समेत ग्राहकमैत्री हुने हुँदा संक्रमण सर्ने जोखिम ज्यादै न्यून हुन सक्छ ।

मर्मत सम्भार छिटो र छरितो तथा प्रभावकारी समेत हुने हुँदा छिट्टै बिग्रिएर बारम्बार धाइरहनु पर्ने अवस्थाबाट समेत छुटकारा मिल्छ । यदि लोकल वर्कशप पनि संगठित र व्यावहारिक वातावरणमा सञ्चालित भएका छन् भने त्यस्ता वर्कशपमा सवारी साधन मर्मत गराउनु उपयुक्त मानिन्छ ।

यसरी गराउनुहोस सुरक्षित तवरबाट सवारी साधनको मर्मत
कोरोना महामारी रोकथामको लागि भन्दै सरकारले लकडाउन गर्न थालेको दुई महिना भन्दा बढी भएको छ । यस अवधिमा अधिकांश सवारीसाधन प्रयोगमा नआई थन्किएर बसेका छन् । लामो समयसम्म सवारी साधन थन्किएर बस्दा भएको इन्जिन लगायन मेकानिकल एवं इलेक्ट्रिक पार्टस्मा समस्या आउन सक्छ । त्यसैगरी समय समयमा स्टार्ट गरिएको छैन भने ब्याट्री र यससँग जोडिएर आउने पार्टस्मा पनि समस्या देखिन थाल्छ ।

लामो समय सम्म थन्काएर राख्नु पर्दा सवारी साधन फोहोर हुने त भइहाल्यो नै । यस्तो अवस्थामा सवारीसाधनको मर्मत सम्भार एवं सर्भिसिङ गराउनु आवश्यक हुन्छ । तर अहिले जहाँ पायो त्यही र बल मिच्याईं गरेर सवारी साधन वर्कशपमा लैजान सकिने अवस्था पनि छैन । वर्कशप आफैमा मानिसहरुको जमघट छुने स्थान भएको हुँदा यस्तो स्थानमा सावधानी नअपनाई जाँदा कोरोना संक्रमण जोखिम समेत उच्च हुन्छ । यी र यस्ता समस्याको बाबजुद सुरक्षित तवरबाट सवारीसाधनको मर्मत सम्भार कसरी गराउने भन्ने विषयमा सचेत हुनु आवश्यक छ ।

वर्कशप भित्र नछिर्नुस
सवारी साधन मर्मत सम्भारका लागि लिएर जाँदा सकेसम्म वर्कशप भित्र छिर्नु हुँदैन । यदि छिरिहाल्नु परे पनि वर्कशपको वातावरण र सरसफाई पूर्वाधार हेरेर मात्रै प्रयोग गर्नु उपयुक्त हुन्छ । यस्तो अवस्थामा सवारी साधनलाई वर्कशप बाहिर रोकेर मेकानिक्स एवं वर्कशप प्रतिनिधिहरुलाई डाकी आफ्नो सवारी साधनमा देखिएका समस्याबारे जानकारी गराई बाहिरै छाड्नु उपयुक्त हुन्छ ।

अन्य कुराकानी फोनबाटै गरेर सवारी साधन मर्मत सम्भार सकेपछि, सकेसम्म सवारी साधनको पनि सेनिटाइजर गराउनु उपयुक्त मानिन्छ । यदि यसो गर्न सम्भव छैन भने मास्क वा ग्लोभ लगाएर सवारी साधन ड्राइभ गर्न सकिन्छ । यो गर्दा संक्रमण सर्ने सम्भावना न्यून हुन्छ ।

You might also like

Comments are closed.