‘वर्किङ इन जापान’ सेमिनार असार २ गते पोखरामा

पोखरा, ३० जेठ । वर्किङ भिजामा जापान जान चाहनेहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक ‘वर्किङ इन जापान’ सेमिनार हुने भएको छ । स्मार्ट एच.आर. सोलुसनको आयोजना, स्मार्ट ओपन एकेडेमी र आइसिएसको सहभागितामा असार २ गते सोमबार क्याफे दि गार्डेन चिप्लेढुंगामा सेमिनार हुन लागेको हो । दिउसो १ बजेदेखि ४ बजेसम्म सेमिनार सञ्चालन हुनेछ ।

एनपिओ ग्लोबल पर्सनल सपोर्ट जापानको सहयोगमा कार्यक्रम हुन लागेको स्मार्ट ओपनका प्रवन्ध निर्देशक समीर थापा मगरले जानकारी दिए । एनपिओ ग्लोबल पर्सनल सपोर्ट जापानका प्रमुख तादाओ नाकाचुबोको उपस्थितिमा कार्यक्रम हुनेछ ।

‘वर्किङ भिजामा जापान जान चाहनेहरुका लागि सेमिनार निकै उपयोगी हुनेछ,’ उनले भने, ‘सेमिनारमा सहभागीहरुले जापानीज प्रतिनिधिसँग प्रत्यक्ष भेटेर छलफल गर्न तथा जिज्ञासा राख्न सक्नेछन् ।’

कम्तीमा ‘एन फाइभ’ पास गरिसकेका र ‘केयरगिभर’ कक्षा लिइरहेका विद्यार्थीहरु सेमिनारमा सहभागी हुन सक्नेछन् । केयर गिभर तथा जापानीज भाषाको नयाँ एन फाइभ, एन फोर कक्षा पनि सञ्चालन भइरहेको थापाले जानकारी दिए । ‘सेमिनारमा उपस्थित भएर उपयुक्त ठानिएका सहभागीहरुलाई अक्टोबरसम्ममा जापान लैजाने तयारी भइरहेको छ,’ उनले भने, ‘असार ३ र ४ गते पोखरामा प्रि–इन्टरभ्यु समेत हुँदैछ ।’

You might also like

Comments are closed.