वर्तमान सरकार पूर्णतः असफल  : पौडेल

पोखरा, ५ माघ

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको दाबी गरे । ओली सरकारले स्थिरता र दुई तिहाईको बहुमत जस्तो अवसर पाएरपनि सदूपयोग गर्न नसेको बताउँदै उनले भने,‘स्थिरता र शान्ति हुँदाहुँदैपनि यो सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार यस अर्थमा पूर्णतः असफल भएको छ ।’ उनले ओली सरकारले सर्बोच्च अदालत, अख्तियारलगायत राज्यका अंगहरुलाई पंगु बनाएर निरकुंशता लाद्ने प्रयास गरिरहेकोसमेत आरोप लगाए ।

पौडेलले सरकार चरम भ्रष्टाचारमा लिप्त भइरहेको आरोप लगाउँदै भने,‘वाइड बडी, एनसेल, बुढी गंण्डकीलगायतमा चरम भ्रष्टाचार भएको छ, तर एनसेल काण्ड लुकाइयो, वाइड बडीमा संसदले काम गरिरहँदा ढाकछोप आयोग बन्यो, अब यसले दोषीलाई उन्मुक्ति दिनसक्छ ।’ उनले वर्तमान सरकारले हरेक क्षेत्रमा कार्यकर्ता भर्ती गर्दै भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माइरहेको टिप्पणी गरे ।

बरिष्ठ नेता पौडेलले सरकारले समाजवाद लागु गर्न कुनै कदम नचालेको पनि बताए । उनले सरकार माफियाहरुको चंगुलमा फसेको पनि आरोप लगाए । साथै उनले दुई दशक अघि शुरु भएको मेलम्चीमा फोटो खिच्न जाने सरकारका मन्त्रीहरुले अझै १ वर्षमा पनि मेलम्चीको पानी ल्याउने छाँट नदेखाएको बताए ।

You might also like

Comments are closed.