वाइड वडी विमान खरिदका दोषी उम्कन पाउँदैनन् : मन्त्री अधिकारी

सन्देश श्रेष्ठ
पोखरा, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइड वडी विमान खरिद प्रक्रियाका दोषी उम्कन नपाउने दाबी गरेका छन् । पोखरामा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले वाइड वडी विमान खरिद प्रक्रियामा दोषी देखिएका जोकोही पनि कार्वाहीको दायरामा ल्याइने बताएका हुन् । उनले भने,‘म अहिले नै यो वा उ दोषी भनेर भन्न सक्दिन, यसको मन्त्रालय, लेखा समितिलगायत विभिन्न समितिले छानविन गरिरहेको छ, छानविनका क्रममा दोषी देखिए जोकोहि पनि उम्कन पाउँदैनन्, ति सबै कार्वाहीको दायरामा आउँछन् ।’ उनले दोषीलाई कार्वाही मात्र नभएर विमान खरिदमा भएको क्षेतिको क्षेतिपूर्तिसमेत तिराइने बताए ।

मन्त्री अधिकारीले वाइड वडी विमान सिधै कम्पनीबाट नभई एजेन्टमार्फत खरिद गरिएको पाइएको बताए । उनले विमान भाडाको मात्रै हो कि भन्ने आशंका नगर्न आग्रह गर्दै भने,‘खरिद गरिएको विल पेश भएको छ, विमान नेपाल भित्राउँदा कर तिरिएको छ, अनि त्यहि विलको आधारमा सरकार नेपाल एयरलाइन्सका लागि जमानी बसिदिएको छ र सञ्चयकोषले रकम दिनुका साथै सो रकम नेपाल एयरलाइन्सले एजेन्टलाई भुक्तानी गरेको देखिन्छ, त्यसैले विमान भाडाको नभई खरिद नै भएको प्रष्ट देखिएकाले म विमानको स्वामित्व छैन कि भनेर शंका नगर्न आग्रह गर्दछु ।’

मन्त्री अधिकारीले नेपाल एयरलाईन्सलाई असफल पार्ने षडयन्त्रसमेत भइरहेको हुनसक्ने आशंका व्यक्त गरे । त्यसको पनि छानविन भइरहेको उनले बताए । अधिकारीले नेपाल एयरलाईन्सलाई सशक्त र प्रभावकारी बनाउनका लागि व्यवस्थापन फेरबदल, कर्मचारी हेरफेर वा त्यसको संयन्त्र परिवर्तन कहाँ ? के गर्दा हुन्छ त्यसको पनि पहिचान गर्ने प्रयास भइरहेको जानकारी दिए । साथै उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्नपनि मन्त्रालय तयार र सक्षम रहेको बताए ।

मन्त्री अधिकारीले वाइड वडी विमान खरिदमा आफू र यो सरकारको संलग्नता नरहेको जिकिर गरे । उनले भने,‘ओली सरकार भन्दा अघिल्लो सरकारले नै सबै प्रक्रिया पूरा गरेको थियो र त्यसको पैसा पनि अघिल्लो सरकारले नै दिएको हो, तर हामी नेतृत्वको सरकार आउँदा त विमान आउन मात्र बाँकी थियो, त्यसैले यो घोटाला प्रकरणमा हाम्रो कुनै संलग्नता छैन ।’

अधिकारीले विमानको उडानमा कमी हुँदा घाटामा गएपनि फेब्रअरीपछि विमान फाइदामा जाने दाबी गरे । आइकाओको ब्ल्याक लिष्ट हटिसकेको र चाँडै युरोपियन युनियनले पनि ब्ल्याक लिष्टबाट हटाएपछि विमानको उडान बढेसँगै घाटापनि कम हुँदै जाने बताए । साथै आउँदो फेब्रुअरीबाट जापानको ओसाका र चिनमासमेत उडान हुने भएकाले त्यसपछि विमान फाइदामा जाने उनको भनाई थियो ।

You might also like

Comments are closed.