विकास समितिको दोस्रो पटक निर्देशन : क्रसर कार्यविधी कार्यान्वयन गर

आर्थिक आवाज

पोखरा, १६ जेठ । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र बिक्री वितरण तथा उद्योग स्थापना र सञ्चालन कार्यविधी पूर्ण रुपमा पालना गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति दीपक कोइराला ‘रुपक’ले बिहीबार मन्त्रालयलाई पत्र लेखेर कार्यविधी पालना गर्न निर्देशन दिएका हुन् ।

समितिले यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको अनुगमन गर्दा पाइएकाले कार्यविधी पूर्ण रुपमा कार्यान्वयन गर्न पुनः निर्देशन दिनुपरेको समितिका सभापति कोइरालाले बताए । समितिले मन्त्रालयमा लेखेको पत्रमा भनिएको छ, ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधी २०७५ को पूर्ण कार्यान्वयन गर्न गराउन निर्देशन भएकोमा समितिको स्थलगत अध्ययन भ्रमणमा कार्यविधीको कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको तथा अझै व्यापक जनगुनासाहरु प्राप्त भइरहेको हुँदा सो सम्बन्धमा समितिको ध्यानाकर्षण भएको जानकारी गराउँदै कार्यविधीको पूर्ण कार्यान्वयन गर्न गराउनुहुन निर्देशन गर्दछु ।’

समितिका सभापति कोइरालाले म्याग्दी, पर्वत र बागलुङको स्थलगत रुपमा अवलोकन गर्दा कार्यविधी पूर्ण रुपमा पालना नभएको पाइएको बताए । उनले म्याग्दी र पर्वतको सिमानामा रहेको ओम दक्षिणकाली क्रसर उद्योग, पर्वत र बागलुङको सिमानामा रहेको कालीगण्डकी क्रसर उद्योग र बेनी नगरपालिका वडा नम्बर ५ स्थित जिसी एण्ड क्रसर उद्योगले जथाभावी क्रसर उद्योग चलाइरहेको पाइएको जानकारी दिए ।

तनहुँ, गोर्खा र नवलपुरमा भने सम्बन्धित जिल्लाका जिल्ला समन्वय समिति र प्रशासनले दिएको रिपोर्टिङमा कार्यविधी पालना नभएको उल्लेख भएकाले दोश्रो पटक निर्देशन दिइएको कोइरालाको भनाई छ । यसअघि पनि निर्देशन दिएका थियौं, ‘उनले भने, ‘तर कहिंपनि कार्यान्वयन भएको पाइएन, त्यसैले दोश्रोपटक समितिले निर्देशन दिनु परेको हो ।’ उनले अबपनि कार्यविधी पालना नभएको पाइए उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीलाई नै समितिको बैठकमा बोलाएर स्पष्टीकरण सोधिने बताए ।

You might also like

Comments are closed.