पोखरा, ८ चैत । पोखरामा बैकिङ बिमा एक्स्पो हुने भएको छ । यही चैत ११ र १२ गते एक्स्पो हुँदैछ । मिडिया इन्टरनेशनलले बैकिङ सूचना प्रवाह गर्दै वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम हुँदैछ ।
सर्वसाधरणमा बैकिङ पहुच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशीलताको विकास गर्न एक्स्पो प्रभावकारी हुने वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बताए । बैकिङ सूचनाको अभावमा लगानीका बिधी, कर्जा र ब्याजबारे सामान्य जानकारी समेत नहँुदा मानिसहरु बैकिङ पहुँचबाट टाढा भएकाले यसको महत्व बुझाउन एक्सपो प्रभावकारी हुने बताउँछन् उनी ।
बैकिङ क्षेत्रको पहुँचमा ल्याएर स्वदेशमा उद्यमशीलताको प्रवद्र्धन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हुने संयोजक निर्दोषले बताए । बिमाको विकास, बिस्तार तथा बिमाको आवश्यकता र महत्वका बारेमा एक्स्पो मार्फत आम नागरिकले सही सूचना पाउने उनले बताए ।
नेपाल राष्ट्र बैंक पोखराका कायममुकायम निर्देशक तिलबहादुर गुरुङले पोखरा शहरी क्षेत्र भएपनि अझै आसपासका ग्रामीण भेगका जनता बैंकिङ चेतनाको अभावमै रहेकोले उनीहरुलाई बैंकिङ सेवाको मुलधारमा ल्याउनुपर्ने बताए । डेभलपमेन्ट बैंकर्स एसोशियसनका वरिष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद ढकालले अहिले चालिस प्रतिशत नेपालीहरुसँग मात्र वित्तीय सेवाको पहुँच रहेको अवस्थामा आम नागरिकमा बैकिङ सचेतना अभिबृद्धि गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने धारणा राखे ।
डेभलपमेन्ट बैंकर्स एसोशियसनका सचिव तथा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत वित्तीय सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
एक्स्पोमा विभिन्न बैंक तथा बित्त र बिमा कम्पनीहरुका सूचनामुलक स्टलहरु रहनेछन् । साथै बैकिङ लगानी, कर्जा, उद्यमशीलता, बैकिङ तथा बिमा टेक्नोलोजी एवं बिमाको महत्वका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस अघि काठमाडौ र इटहरीमा भइसकेको एक्स्पो पोखरामा पहिलो पटक हुँदैछ । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बिमा समितिसँगको साझेदारीमा कार्यक्रम गर्न लागिएको हो । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स एशोसियसनले एक्स्पोमा सहकार्य गरेका छन् ।