वित्तीय साक्षरता बढाउँदै सकियो बैकिङ बिमा एक्स्पो

सुरेन्द्र पौडेल
पोखरा, १३ चैत । पोखरामा आयोजित बैकिङ बिमा एक्स्पो सम्पन्न भएको छ । आइतबार सुरु एक्स्पो सोमबार सकिएको हो । एक्स्पोको एक कार्यक्रमका बीच डेभलपमेन्ट बैंकर एसोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकालले समापन गरे । कार्यक्रममा बोल्दै उनले वित्तीय जागरणका लागि एक्स्पो प्रभावकारी बनेको बताए ।

पोखरामा पहिलो पटक आयोजना गरिएको एक्स्पो वित्तीय क्षेत्रमा चासो दिनेहरुका लागि प्रभावकारी बनेको कार्यक्रम संयोजक वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बताए । नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोममा आयोजित एक्स्पोमा २७ वटा स्टल राखिएका थिए । कमर्सिलय बैंकका ७ वटा, विकास बैंकका ७ वटा, फाइनान्स कम्पनीका २ वटा, माइक्रो फाइनान्स कम्पनीका ४ वटा स्टल थिए । बिमा कम्पनीका ६ वटा र विमा समितिको एउटा स्टल राखिएको निर्देशले जानकारी दिए ।

एक्स्पोमा वित्तीय क्षेत्रमा चासो दिने व्यक्तिहरु तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको निर्देशले जानकारी दिए । ‘आगामी वर्षमा पनि पोखरामा एक्स्पो गर्न प्रोत्साहन मिलेको छ,’ उनले भने, ‘सबैको साथबाट एक्स्पो सफल भएको छ ।’ मिडिया इन्टरनेशनलले बैकिङ सूचना प्रवाह गर्दै वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गरेको हो । एक्स्पोको आइतबार बिमा संस्थानका अध्यक्ष चिरञ्जिवी चापागाईंले उद्घाटन गरेका थिए ।

यस अघि काठमाडौ र इटहरीमा यस प्रकारको एक्स्पो भएको थियो । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बिमा समितिसँगको साझेदारीमा एक्स्पो गरिएको हो । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स एशोसियसनले एक्स्पोमा सहकार्य गरेका थिए ।

You might also like

Comments are closed.