‘विदेशीसँग आँखामा आँखा जुधाएर भू–परिवेष्ठित देशको अधिकार माग्छौं’

 

सन्देश श्रेष्ठ

पोखरा, १४ बैशाख

उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुई तिहाईको सरकारले केहि गर्न नसक्दा आफ्नो मनपनि भतभती पोलिरहेको बताएका छन् । मदन भण्डारी फाउण्डेसन कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा शनिबार पोखरामा आयोजना गरेको ‘वर्तमान आर्थिक, सामाजिक संरचना र समृद्धिको यात्रा’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले झ्याम झयाम निर्णय गरेर विकास र समृद्धितर्फ लैजान नपाएकोमा आफ्नो मन भतभती पोलिरहेको बताएका हुन् । सरकार परिवर्तन भयो, दुई तिहाईको सरकार छ, झ्यामझ्याम निर्णय गरे भइहाल्यो नि भन्नेपनि लाग्छ, यस्तो अवस्थामापनि काम गर्न नसक्दा मेरोपनि मन भतभती पोल्छ–उनले भने,‘तर यो विशेष परिस्थिति हो, यो सरकार मात्रै होइन प्रणाली फेरिएको पनि हो, प्रणालीलाई ब्यबस्थित गर्न समय लाग्दा काम गर्न नसकिएको हो ।’ प्रणाली फेरिएकाले त्यसका लागि कानून निर्माण गर्ने, ऐन बनाउनेलगायतका काम गर्नुपर्दा सरकारले जनताले अनुभुत गर्नेगरी काम गर्न नसकेको उनको भनाई थियो ।

उप–प्रधानमन्त्री पोखरेलले विदेशीसँग आँखामा आँखा जुधाएर भू–परिवेष्ठित देशको अधिकार माग्ने बताएका छन् । छिमेकी देशहरुले भू–परिवेष्ठित देशको अधिकार दिन कञ्जुस्याईं गरेको आरोप लगाए ।

मन्त्री पोखरेलले समृद्धिलाई पैसासँग मात्रै तुलना गर्न नहुने बताए । समृद्धिलाई पैसामा मात्रै बुझियो भने त्यो समृद्धिको नाममा विकृति हुन्छ–उनले भने,‘समृद्धि भनेको गुणस्तरिय जीवन (क्वालिटी अफ लाइफ) हो, जसमा मानिसको जीवन, उसले जीउने वातावरण, सोंच्ने र भोग्ने क्षमताको विकासलगायतको समग्रता हो ।’

वर्तमान ब्यूरोक्रेसी भएसम्म देशमा समृद्धि आउँदैन : प्रभाकर

पूर्व मन्त्री तथा नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ले वर्तमान ब्यूरोक्रेसी भएसम्म देशमा समृद्धि नआउने ठोकुवा गरे । समृद्धि नै ल्याउने हो भने वर्तमान ब्यूरोक्रेसीमा ब्यापक फेरबदल ल्याउनुपर्छ–उनले भने,‘त्यसका लागि चाहे एक जनाको मासिक एकलाख नै तिर्न किन नपरोस् ।’

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सरकारमा अधिनायकवाद हावी भएको आरोप लगाए । शक्ति एकीकृत गर्ने प्रधानमन्त्रीको सिको हुन थालेको भन्दै उनले भने,‘हरेक वडाध्यक्ष प्रधानमन्त्री ओलीजस्तै शक्तिशाली हुन खोज्दैछन्, त्यसलाई रोक्नुस् ।’

You might also like

Comments are closed.