पोखरा । पोखरामा बस्दै आएका विदेशी पर्यटकहरुले स्वदेश फर्कन नचाहेको बताएका छन् । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण पोखरामै अल्झिएका विदेशी पर्यटकहरुले आफूहरु स्वदेश फर्कन नचाहेको बताएका हुन् । लकडाउन खुलेर अन्र्तराष्ट्रिय उडान शुरु भएको १५ दिनभित्र स्वदेश फर्किसक्नुपर्ने प्रावधानले आफूहरु मारमा परेको भन्दै उनीहरुले सोमबार पोखरामा पत्रकार भेटघाट गर्दै आफूहरु नेपालमै बस्न चाहेको बताए ।
कोरोना संक्रमण फैलिएसँगै अन्र्तराष्ट्रिय उडान रोकेको नेपाल सरकारले आगामी भदौ १ गतेदेखि अन्र्तराष्ट्रिय उडान खोल्दैछ । अन्र्तराष्ट्रिय उडान शुरु भएको १५ दिन भित्र विदेशी पर्यटकले नेपाल छोडिसक्नुपर्ने प्रावधान रहेको छ । यसरी सरकारले तोकेकै समयमा स्वदेश फर्किए ती विदेशी पर्यटकले भिसाबापत कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । तर अटेर गरि नेपालमै बसिरहेमा भने उनीहरुले जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ । त्यस्तो अवस्थामा सरकारले लकडाउन अवधीभरकोसमेत जरिवाना शुल्क लिनसक्ने प्रावधान रहेको छ ।
विदेशी पर्यटकहरुले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेकाले स्वदेश फर्कन नचाहेको बताएका छन् । उरुग्वेका नागरिक मार्टिनले आफ्नो देशमा अहिले कोरोनाको जोखिम उच्च रहेकाले स्वदेश फर्किन नचाहेको बताए । अहिले घर फर्किने वातावरण नै छैन,‘उनले भने,‘जसोतसो जान त सकिएला, तर कोरोना संक्रमण हुने सम्भावना अत्यधिक छ ।’ उनले आफूहरुलाई नेपालमा बस्न दिनुपर्ने माग गरे । नेपालमा थप केहि समय बस्न पाए पदयात्रा जाने आफ्नो धोको रहेको बताए ।
अमेरिकाकी नागरिक रोक्सिलेपनि आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेकाले यहिं बस्ने चाहना भएको बताइन् । लस एञ्जलस घर भएकी उनले भनिन्,‘फर्किन त फर्किने हो घर, तर अहिले फर्किदा संक्रमणको जोखिम छ, यात्रामै जोखिम, घर पुगेपछि पनि थप जोखिम ।’ उनले पोखरामा बस्न र खानको समस्या नभएकाले जरिवाना तिरेर भएपनि बस्न दिनुपर्ने माग गरिन् ।
पोखरामा लकडाउनका कारण थुनिएका पर्यटक करीब ४ सयको हाराहारीमा छन् । लकडाउनका कारण पोखरामै अल्झिएका उनीहरु अझै केहि समय नेपालमै बस्न चाहन्छन् । पोखरा बसाई सुरक्षित रहेको उनीहरुको भनाई छ । तत्काल स्वदेश फर्कदा कोरोना संक्रमणको जोखिम हुने भन्दै उनीहरु बरु जरिवाना तिरेरै भएपनि पोखरा बस्न पाउनुपर्ने मागमा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । विशेष गरेर यात्राका क्रममा जोखिम बढी हुने र स्वदेश पुगेर परिवारको सम्पर्कमा जाँदा आफूबाट परिवारपनि जोखिममा पर्नसक्नेप्रति उनीहरुको चिन्ता रहेको विकलले बताए । उनलेपनि विदेशी पर्यटकलाई पोखरामै रोक्न सके विदेशी र पर्यटन व्यवसायी दुबैलाई फाइदा हुने बताए । तर उनीहरुलाई वर्क परमिट भने दिन नहुने उनको भनाई छ । नेपाल छाड्नुपर्ने बाध्यता आइपरे कहाँ जाने भन्ने चिन्ता र त्यसरी जाँदापनि ती देशले नस्वीकार्ला भन्ने अर्को चिन्ता रहेको विकलले उल्लेख गरे ।
अध्यागमन विभागले भने सरकारले निर्णय गरेमात्र विदेशी पर्यटकलाई थप बस्न दिन सकिने जनाएको छ । अहिलेको प्रावधान अनुसार विदेशी पर्यटक १५० दिन भन्दा बढी बस्न मिल्दैन,‘उनले भने,‘ विभागका प्रवक्ता रामचन्द तिवारीले भने,‘अन्र्तराष्ट्रिय उडान खुलेको १५ दिन भित्र नेपाल छाड्नै पर्छ, होइन भने नेपाल सरकारले नै निर्णय गर्नुपर्छ ।’
Comments are closed.