विदेशी विद्यार्थीको खाजा खर्चले ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र निर्माण

आर्थिक आवाज
पोखरा । विदेशी पर्यटक मात्रै हुन् । उनीहरु घुम्नका लागि मात्रै नेपाल आउँछन् भन्ने आम नेपालीको बुझाई छ । तर कोहि कोहि विदेशी पर्यटक केवल पर्यटक मात्रै भएर आउँदैनन् । अझ भनौं उनीहरु केवल घुम्नका लागि मात्रै नेपाल आउँदैनन् । बरु समाजसेवाका लागिपनि नेपाल आउँछन् । हो कास्की माछापुच्छ्रे गाउँपालिकामा पर्यटक भएर आएका फ्रान्सेली विद्यार्थीले यहि कुरा पुष्टी गरेका छन् ।

फ्रान्सको ईसिएसटी विश्वविद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बचत गरेर राखेको रकमले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ ढोकाकोमुख पाटन, घाचोकमा ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र निर्माण गरिदिएका छन् । ‘सोलिडारिटी फ्रान्स–नेपाल’का सदस्यहरु ग्यास्पर्ड, माटिल्ड, इनेस, हेनरी, सर्जो र वृयूले सो केन्द्र निर्माण गरेका हुन् । उनीहरुले खाजा खर्च कटाएको रकम मात्र खर्च गरेनन् बरु स्वयम्सेवी जनश्रमदानसमेत गरेर केन्द्र स्थापना गरेका हुन् । उनीहरुको प्रयासमा समाजसेवी तथा पर्यटन व्यवसायी वसन्तराज दवाडीले आफ्नी आमाको स्मृतिमा स्थापना गरेको ‘आमा स्मृति प्रतिष्ठान’ले होस्टेमा हैंसे गरेको छ भने माछापुच्छ्रे गाउँपालिका कार्यालय, सम्बन्धित वडा नम्बर ३ कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सहयोग गरेको छ ।

विदेशी ति विद्यार्थीले २५ लगाएर ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र निर्माण गरिदिएको स्थानिय पर्यटन व्यवसायी तथा समाजसेवी वसन्तराज दवाडीले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि करीब ९ लाख खर्च भएको छ । जसमा विदेशी विद्यार्थीले खाजा खर्च कटाएर बचत गरेको ३ लाख ८० हजार, आमा स्कृति प्रतिष्ठानको २ लाख खर्च भएको छ भने माछापुच्छ्रे गाउँपालिकाले जस्तापाता र वडाले बिस्तारा (बेड)का लागि रकम उपलब्ध गराएको दवाडीले बताए । ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र भवन निर्माण भने फ्रान्सेली विद्यार्थी आफैले जनश्रमदान गरेर निर्माण गरिदिएको उनले बताए । उनका अनुसार जुलाई ६ तारिख अर्थात असार २१ गतेबाट केन्द्र निर्माणमा जुटेका उनीहरुले साउन १४ गते निर्माण सम्पन्न गरेर वडा कार्यालयलाई सो भवन हस्तान्तरण गरेका छन् । उनीहरुले भुईंतले टिनको घर र शौचालय निर्माण गरेका छन् भने १६ वटा बेड र एउटा ३६ ईञ्चको फ्ल्याट टिभीपनि प्रदान गरेका छन् ।

टोलीका प्रमुख ग्यास्पर्डले आफूहरुले प्रत्येक वर्ष नेपालमा ‘सोलिडारिटी फ्रान्स–नेपाल’मार्फत समाजिक काम गर्दै आएको बताए । उनले आफूहरु कास्कीमा आएपनि अन्य ४ टोलीले देशका अन्य ठाउँमा काम गरिरहेको जानकारी दिए । बिदाको मौका पारेर आफूहरु सामाजिक कार्यका लागि नेपाल आएको उनको भनाई छ । उनले यसरी समाजसेवा गर्दा आफूहरुलाई आनन्द आउने बताए ।

ज्येष्ठ नागरिक दीवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुलाई दीवाकालिन सेवा दिइने दवाडीले बताए । उनका अनुसार केन्द्रमा आउने ज्येष्ठ नागरिकलाई दिउँसो खाजाका रुपमा दाल, भात, तरकारी, बेला बेला चिया खुवाइने छ भने टिभीमा धार्मिक गतिविधी, मठ मन्दिर, भजन, चुड्कालगायतका दृश्यहरु प्रशारण गरेर मनोरञ्जन र ज्ञान प्रदान गरिनेछ । साथै उमेर भएकाहरुलाई ज्ञान, सीप सिक्ने वातावरणपनि निर्माण गर्ने लक्ष्य लिइएको बताए ।

यसैबीच, ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र स्थानियलाई हस्तान्तरण गरिएको छ । विदेशी विद्यार्थीले आफूहरुले निर्माण गरेको केन्द्रको भवनको तालाचावी वडा नम्बर ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्साललाई हस्तान्तरण गरे । सो अवसरमा प्रदेश सांसद रामजीप्रसाद बरालले केन्द्रको उद्घाटनसमेत गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बरालले विदेशी विद्यार्थीले नेपालको कुनामा आएर ज्येष्ठ नागरिकका लागि दीवा सेवा केन्द्र निर्माण गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले विदेशी विद्यार्थीबाट नेपालीले सिकेर समाजसेवामा समर्पित हुनुपर्ने बताए । आफ्ना अभिभावकका लागि छोराछोरी नै जिम्मेवार हुनुपर्ने भन्दै उनले ज्येष्ठ नागरिकलाई पीडा र छटपटीबाट मुक्ता पार्नुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिक राज्यको सम्पती भएको बताउँदै उनले भने,‘उनीहरुलाई पीडा र छटपटीबाट मुक्त गराउने राज्यको जिम्मेवारी हो, छोराछोरीपनि जिम्मेवार हुनुपर्छ ।’ उनले दीवा सेवा केन्द्रलाई दीर्घकालिन बनाउनका लागि अक्षयकोष स्थापना गरेर अगाडि बढ्न सुझावसमेत दिए ।

माछापुच्छ्रे गाउँपालिकाकी कार्यवाहक प्रमुख कृष्णकुमारी दवाडीले दीवा सेवा केन्द्रलाई सुख दुःख साटासाट गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताइन् । उनले अभिभावकलाई हेला नगर्न छोराछोरीहरुलाई आग्रहसमेत गरिन् । कार्यक्रममा ज्येष्ठ नागरिक दीवा सेवा केन्द्र भवन निर्माण गरिदिने फ्रान्सेली विद्यार्थीलाई सम्मानपत्र प्रदान गर्नुका साथै फुलमाला र अवीर लगाएर सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.