नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाका १७औं ब्याचका सातौं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा शनिबार फुड फेस्ट हुँदैछ । कार्यक्रम आयोजना गर्नुको उद्देश्य, विद्यार्थीहरुको सहभागिता, कार्यक्रमका गतिविधि लगायत विविध विषयमा केन्द्रित रहेर कलेजका प्रिन्सिपल प्रकाश रेग्मीसँग आर्थिक आवाजले गरेको कुराकानीः
प्रकाश रेग्मी
प्रिन्सिपल
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज
क्याम्पसमा फुड फेस्टको आयोजना किन ?
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका १७औं व्याचका सातौं सेमेस्टरका बि.एच.एम.का विद्यार्थीहरुको संंयोजनमा पुस ७ गते शनिबार फुड फेस्ट तथा सांस्कृतिक कार्यक्रम हुँदैछ । छिनेडाँडास्थित क्याम्पस प्राङगणमा बिहान ११ बजे सुरु हुने कार्यक्रम साँझसम्म चल्नेछ । कार्यक्रमको आयोजक बिएचएमका विद्यार्थीहरु हुन् । कलेजले विद्यार्थीलाई फुड फेस्ट आयोजना गर्न अवसर दिएको हो । विद्यार्थीहरुको नेतृत्व क्षमता बढाउन, कम्प्युनिकेसन स्किल, इभेन्ट म्यानेजमेन्ट स्किल बढाउन, पब्लिक रिलेसन स्किल बढाउन फेस्ट आयोजना गरिएको हो ।
फेस्ट आयोजना गर्दा विद्यार्थीलाई के फाइदा हुन्छ ?
गत वर्षसम्म कलेजले नै कार्यक्रम आयोजना गर्दथ्यो । विद्यार्थीहरु त्यसमा सहभागी हुन्थे । अहिले विद्यार्थीहरु नै आयोजक छन्, कलेजले त्यसमा सहकार्य गरेको छ । प्रायोजक खोज्नेदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी विद्यार्थी स्वयमले लिएका छन् । जसले गर्दा विद्यार्थीको नेतृत्व क्षमता बढेको छ भने इभेन्ट म्यानेजमेन्टमा दक्ष बनेका छन् । होटल म्यानेजमेन्टका विद्यार्थीले इभेन्टको म्यानेजमेन्ट गर्न सक्षम हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । र विद्यार्थीले आफ्नो सक्षमता प्रदर्शन गरिसकेका छन् ।
फेस्टको तयारी कस्तो छ ?
विद्यार्थीले टिमवर्कका साथ विभिन्न सेगमेन्ट छुट्याई कार्यक्रमको तयारी गरेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । अब हामी उद्घाटनको पर्खाइमा मात्र छौं ।
फेस्टमा कतिवटा स्टल छन् ?
करिब २० वटा स्टल फेस्टमा रहन्छन् । कलेजका विभिन्न सेमेस्टरका विद्यार्थीले छुट्टाछुट्टै स्टल लिएका छन् । स्टल डेकोरेसन सहित खानाका परिकारहरु विद्यार्थी स्वयमले तयार गर्छन् । केही स्टल कलेज बाहिरका अन्य संंघसंस्थालाई पनि दिइएको छ ।
फेस्टको तयारीको सन्दर्भमा विद्यार्थीहरुले गरेको नेतृत्वबाट तपाईंहरु सन्तुष्ट हुनुहुन्छ ?
तयारीका सन्दर्भमा विद्यार्थीहरुले कुनै पनि कमिकमजारी गरेनन् । आफ्नो कुशलता सफलता पूर्वक प्रस्तुत गर्न विद्यार्थीहरु सफल भए । कलाकार बोलाउनेदेखि लिएर स्पोन्सर खोज्नेदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी विद्यार्थी स्वयमले लिए । विद्यार्थीहरुले गरेको अग्रसरताबाट हामी पूर्ण सन्तुष्ट छौं । कार्यक्रम सफल बनाउन हामीले सहकार्य र सहयोग मात्र गरेका छौं । यसको सम्पूर्ण जस विद्यार्थीलाई नै जान्छ ।
फेस्ट सफल पार्न कसकसले सहकार्य गरेका छन् ?
कार्यक्रमलाई सफल पार्न नेपाल टुरिजम बोर्ड, कंगारु एजुकेशन फाउन्डेशन पोखरा, रारा तयारी चाउचाउ, होटल क्राउन हिमालयज लेकसाइड, भक्सवागन कार, यामाहा मोटरसाइकल, कान्तिपुर होटल तालिम केन्द्र, सफल मिडिया हाउस नयाँबजार लगायतले सहयोग गरेका छन् ।
फुड फेस्टसँगै अन्य के–कस्ता गतिविधि हुन्छन् ?
यो फुड र बेभरेज मेला हो । फुड र बेजरेजमा विद्यार्थीहरुले आफ्नो दख्खलता प्रदर्शन गर्नेछन् । फुड र बेजरेजसँग म्युजिकल कार्यक्रमको विशेष सम्बन्ध रहन्छ । फुड र बेभरेजसँगै मेलामा आउने आगन्तुकहरुले म्युजिकको समेत मज्जा लिन पाउनेछन् । ख्यातिप्राप्त कलाकार तृष्णा गुरुङ लगायत स्थानीय कलाकारसहित विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गर्नेछन् ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विशेषताहरु के¬–के छन् ?
यो कलेज नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज हो । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सन् १९९९ मा पोखराको छिनेडाँडामा स्थापना भएको यो कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशेष पहिचान बनाउन सफल छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालिन गण्डकी प्रदेशको एकमात्र होटल म्यानेजमेन्ट कलेज हो ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कलेजमा शनिबार हुने कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण पोखराबासी तथा पर्यटन व्यवसायीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध महानुभावहरुलाई म आग्रह गर्दछु । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङगानाको प्रमुख आतित्थ्यतामा कार्यक्रम हुँदैछ । कार्यक्रममा पोखरा विश्वविद्यालयका विभिन्न पदाधिकारीहरु, नेपाल पर्यटन बोर्ड, हान, टान, रेवान, नाट्टा लगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको पनि कार्यक्रममा सहभागिता रहन्छ । कार्यक्रमको अवलोकन गरी सल्लाह तथा सुझाव दिनका लागि म सबैम आग्रह गर्दछु ।