विद्यालयलाई होटल व्यवसायी महिलाको सहयोग

धिताल (कास्की), २५ वैशाख ।

पश्चिमाञ्चल होटल व्यवसायी महिला संघ (फान) ले माछापुच्छ«े गाउँपालिका धितालस्थित श्री कैलाश टेत्सुओ आधारभूत विद्यालयलाई सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच आर्थिक, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको हो ।

संस्थाले १५ हजार रुपैयाँ नगद सहित कापी, कलम तथा खेलकुद सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष मिना तुलाचनले जानकारी दिइन् । ‘विद्यार्थीलाई विद्यालय आउन प्रोत्साहनको लागि स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेका हौं,’ उनले भनिन् ।

आवश्यकता महसुस गरी विद्यालयलाई सहयोग गरेको कार्यक्रम संयोजक उर्मिला श्रेष्ठले बताइन् । आथै उनले सोलिटरी लजको तर्फबाट १० हजार रुपैयाँ सहयोग गरेकी छन् । यस अघि पनि उनले उक्त विद्यालयलाई ५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । ‘बालबालिकालाई कपडा पनि सहयोग गरेका छांै,’ उनले भनिन् ।

त्यसैगरी हल्याण्डका नागरिक हेन्क तथा उनको परिवारले विद्यालयलाई ७ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपालको शिक्षा क्षेत्रमा सानो भएपनि योगदान पु¥याउने उद्देश्यले सहयोग गरेको हेन्कले बताए । विद्यालयमा विद्यार्थीलाई खाजाको लागि आर्थिक सहयोग गरेको र रकमको सदुपयोग भएमा भविष्यमा पनि सहयोग गर्न आफुहरु तत्पर रहेको तुलाचनले बताइन् ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष जमुना पराजुलीले विद्यार्थी तथा विद्यालयलाई सहयोग गर्न पाउँदा आफूहरु खुसी रहेको बताइन् । ‘बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस भनि सहयोग गरेका हौं,’ उनले भनिन् ।

विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकको विचमा सहयोग हस्तातरण गरिएको हो । संस्थाले सामाजिक काम गर्ने उद्देश्यका साथ सहयोग गरेको महासचिव सत्या पहारीले जानकारी दिइन् ।

विद्यालयलाई सहयोग गरेर संस्थाले राम्रो काम गरेको र आफूहरु खुसी भएको विद्यालयका प्रधानाध्यापक चुनमाया गौतमले जानकारी दिइन् । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य धनपति गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फानका निरु श्रेष्ठ, रेखा श्रेष्ठ, शिक्षिका इन्दिरा बास्तोला लगायतले बोलेका थिए । विद्यालयका विद्यार्थीलाई रमाइलो होस भनेर संस्थाले मंगलबार विद्यार्थीलाई दिवा भोज पनि खुवाएको छ ।

You might also like

Comments are closed.