विधान विपरित जाने जो कोहीलाई पनि कार्वाही हुन्छ : पार्टी सभापति देउवा

आर्थिक आवाज
तनहुँ, ६माघ
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान विपरित जाने जो कोहीलाई पनि कार्वाही हुने बताएका छन् । आइतबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विधान विपरित जाने कसैलाई छुट नभएको बताएका हुन् ।

“पार्टीमा अनुशासन कायम हुन जरुरी छ, कसैले पनि पार्टी संरचना बिथोल्ने काम गर्न हुन्न” उनले भने । पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीले माघ ८ गते आव्हान गरेको विशेष जिल्ला अधिवेशनको प्रसङ्ग जोड्दै देउवाले त्यस्तो गतिविधिले पार्टीलाई फाइदा नपुग्ने भन्दै अधिवेशन स्थागित हुनुपर्ने बताए ।

पार्टी भित्रको आन्तरिक विवादका आधार पहिचान गरी छलफलबाट विवाद टुंग्याउन तिर लाग्न उनले आग्रह गरे । कांग्रेसको इतिहास बलियो भएको चर्चा गर्दै देउवाले अहिलेको हारबाट पाठ सिकी पार्टीलाई सुदृढीकरण गरी थप शक्तिशाली बनाउन नेता कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे । तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्र विघटन प्रति देउवाले असन्तृष्टि व्यक्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले पार्टी भित्रको आन्तरिक द्धन्द् नै पराजयको प्रमुख कारण भएको दावि गरे । “हाम्रो पार्टीको आन्तरिक एकता कमजोर हुनु नै हार हो” उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, शंकर भण्डारी, प्रदीप पौडेल, जिवन परियार लगायतले जोशीले आव्हान गरेको विशेष अधिवेशन पार्टीको विधान विपरीत भएको भन्दै त्यो अधिवेशनले बैधानिकता नपाउने बताए ।

पार्टीलाई आघात पुग्ने गरी विधान र विधिलाई कुल्चेर गरिएका गतिविधि स्वीकार्य नहुने उनीहरुको भनाइ थियो । पार्टीमा अविश्वासको प्रस्ताव ल्याउन सकिने तर विधान भन्दा माथि गएर जताभावि निर्णय गर्नाले पार्टी अराजकताको बाटोमा जाने केन्द्रिय नेताहरुको तर्क थियो ।

You might also like

Comments are closed.