पोखरा । नेपालीहरुको महान चाँड बडादशैं शुरु भएसँगै पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । बडादशैंको पहिलो दिन आइतबारदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव २०७६ शुरु भएको हो । आइतबारदेखि शुरु भएको महोत्सव असोज २० गते महाअष्टमीसम्म सञ्चालन हुनेछ ।
विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले विश्व शान्ति तथा मानव कल्याणको कामनासहित जातीय सद्भाव र धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्देश्यले महोत्सवको आयोजना गरेको हो । नवदुर्गा महोत्सव शुभारम्भको दिन आइतबार विहान शोभायात्रा निकालिएको छ । विन्ध्यवासिनी मन्दिरको झाँकी र नवदुर्गाका नौ रुपका झाँकीसहित कलश यात्रागरी बजार परिक्रमा गराइएको हो ।
बिहान विन्ध्यवासिनी पार्किङ स्टथलबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भमिसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेश टोल हँुदै विन्ध्यवासिनी पुगेर समापन भएको थियो । शोभायात्रामा नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह, उद्योगी व्यवसायी तथा विभिन्न धार्मिक, सामाजिक, शैक्षिक, बैंक विक्तिय संघ संस्था लगायत विद्यार्थीहरु सहभागी भएका थिए । शोभायात्राको शुभारम्भ गण्डकी प्रदेश प्रमुख बाबुराम कँुवरले नव कन्याहरुलाई टीका लगाएर शुभारम्भ गरेका थिए । उनी विन्ध्यवासिनीदेखि महेन्द्रपुलसम्म शोभायात्रामा सहभागी भएका थिए ।
शोभा यात्राको समापन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बडादशैंको शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना रहेको बताए । ‘गण्डकी प्रदेशलाई समृद्ध बनाउने भनेकै ऊजा र पर्यटनबाट नै हो,’ उनले भने,‘ धार्मिक पर्यटनको विकास गर्न विध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले गरेका कार्यहरु प्रशंसनीय छन्, प्रदेश सरकारले समितिलाई सक्दो सहयोग गर्नेछ ।’
समापन कार्यक्रममा शोभा यात्रामा सहभागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्काउटलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याप्टेन रक्षबहादुर गुरुङले विन्ध्यावासिनी प्राकृतिक चिकित्सालयलाई एक लाख सहयोग गरे भने उनलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
विन्ध्यवासिनी क्षेत्र विकास समितिका सचिव श्रेष्ठका अनुसार नवदुर्गा महोत्सवमा युवा पण्डित भाष्कर कमलनयन गौतमले कथावाचन गर्नेछन् । महोत्सवमा श्रीमद् भागवतदेवी ज्ञान महायज्ञ समेत हुनेछ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजे देखि मध्याहः १२ बजेसम्म र मध्यान्हः १ बजेबाट अपरान्हः ४ बजेसम्म चल्नेछ । विजया दशमीको अवसरमा मन्दिरमा बिहान ४ बजे देखि पूर्वान्हः ५ बजेसम्म नित्य पूजा आजा गर्ने व्यवस्था समितिले मिलाएको अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रत्येक साँझ ६ बजे आरती गरिनेछ ।
मन्दिरमा भक्तजनहरुले चढाएको भेटिबाटै समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । गत वर्ष समितिले २ करोड ७५ लाख रुपैयाँ भेटि संकलन गरेको थियो ।
समितिले लिफ्ट (विद्युतीय भ¥याङ) समेत सञ्चालन गर्दै आएको छ । लिफ्टबाट संकलन गरिएको रमकले लिफ्ट मर्मत गर्न पुग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । शारीरिक असक्त, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक बाहेक अन्य स्वदेशीलाई जनही ५० र विदेशीलाई जनही एक सय रुपैयाँ शुल्क तोकिएको छ । समितिले विन्ध्यवासिनी बैदिक गुरुकुल विद्याश्रम पनि सञ्चालन गर्दै आएको छ । विद्याश्रमको भवन निर्माण कार्य सुरु गरिएको छ भने समितिले प्राकृतिक चिकित्सालय निर्माणको काम पनि थालेको छ ।
Comments are closed.