विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालन

पोखरा, फागुन २३

प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सञ्चालनमा आएको छ । पोखराको विन्ध्यबासिनी मन्दिरमा विहीबारदेखी लिफ्ट सेवा सञ्चालनमा आएको हो । लिफ्टको विहीबार मन्दिर प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरिन् । विहीबारदेखी सञ्चालनमा आएको लिफ्ट प्रतिष्ठित घराना कम्पनी लक्ष्मी ग्रुप र हुण्डाई कम्पनी कोरियाको सहयोगमा निर्माण गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । लिफ्ट निर्माणमा करीब १ करोड खर्च भएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

मन्दिरको उत्तर पूर्वी क्षेत्रमा लिफ्ट निर्माण गरिएको हो । ८ महिना लगाएर निर्माण गरिएको लिफ्ट ६० फुट अग्लो छ । लिफ्ट ६ सय ८० केजी तौल क्षमताको रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिए । एकैपटक १० जनासम्म चढ्न मिल्ने लिफ्टमा हाल ६ जनाबाट सेवा सञ्चालन गरिने उनले बताए । पछि बिस्तारै १० जनासम्मै चढ्नेगरी खुल्ला गरिने उनको भनाई छ ।

जेष्ठ नागरिक, असक्त, अपाङ्गता भएकाहरुलाई लक्षित गरि लिफ्ट सञ्चालनमा ल्याइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । लिफ्ट जेष्ठ नागरिक, असक्त, अपाङ्गता भएकाहरुका सहयोगीले पनि प्रयोग गर्न पाउने उनले जानकारी दिए । तर सबलाङ्गहरुलाई लिफ्ट सेवा दिने कि नदिने भन्नेबारेमा समितिले निर्णय नगरिसकेको उनले बताए । जेष्ठ नागरिक, असक्त तथा अपाङ्गता भएकाहरुको मन्दिरमा आगमन र उनीहरुले गर्ने लिफ्टको प्रयोगका आधारमा सबलाङ्गहरुलाई लिफ्ट प्रयोग गर्न दिने कि नदिने भन्ने निर्णय गरिने उनले प्रष्ट्याए । जेष्ठ नागरिक, असक्त, अपाङ्गता भएकाहरुलाई निःशुल्क लिफ्ट सेवा दिइने तर सबलाङ्गको हकमा उनीहरुलाई पनि सेवा दिइएको खण्डमा सशुल्क हुनसक्ने उनको भनाई छ ।

लिफ्टको माथिल्लो विन्दुमा टावरसमेत निर्माण गरिएकाले सो ठाउँबाट दृश्यावलोकनसमेत गर्न सकिने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार लिफ्टको माथिल्लो भागबाट माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिम श्रृंखला प्रष्ट देखिन्छ । लिफ्टको तल र माथी दुबै ठाउँमा २०÷२० जना अटाउने प्रतिक्षालय बनाइएको छ । जहाँ तीर्थयात्रीहरुले केहिबेर आरामसमेत गर्न मिल्ने उनले बताए । लिफ्ट सञ्चालनसँगै भक्तजन बढ्ने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको विश्वास छ । अपाङ्गमैत्री सेवा नहुँदा जेष्ठ नागरिक, असक्त तथा अपाङ्गता भएकाहरु मन्दिरमा नआउने गरेकाले लिफ्ट सेवा सञ्चालनसँगै ति धार्मिक पर्यटक पनि बढ्ने समितिको विश्वास रहेको हो ।

मन्दिरमा लिफ्ट निर्माण नेपालमै पहिलो भएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले दाबी गरे । उनले भने,‘मन्दिरमा लिफ्ट निर्माण गर्ने नेपालकै पहिलो सौभाग्य हामीलाई मिलेको छ ।’ कार्यक्रममा लिफ्ट निर्माणमा सहयोग गरेका लक्ष्मी ग्रुप र कोरियाको हुण्डाई कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.