विभेद वा अत्याचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिने थापाको घोषणा

 

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले बाटुलेचौर घट्नामा आफूले कसैलाई विभेद नगरेको स्पष्ट पारेका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले बाटुलेचौर घट्नामा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् । उनले केहि सांसदहरुले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरेको आरोपसमेत लगाए ।

बाटुलेचौरस्थित क्षेत्रीको किरियापुत्री भवनमा सुनारलाई बस्न नदिएको घट्नामा आफ्नो नामै लिएर केहि सांसदहरुले सुनियोजित रुपमा आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको भन्दै उनले आरोप प्रमाणित गर्न चुनौति दिए । कम्युनिष्टको सिद्धान्त र आदर्शबाट बिचलित नभएको र कहिल्यै नहुने भन्दै उनले भने,‘विभेद त के मैले त्यहाँका सुनार तथा गन्धर्वहरुलाई तँ वा तिमीसमेत नभनी तपाईं भन्दै आएको छु, मैले त्यहाँका कुनैपनि व्यक्तिलाई विभेद गरेको वा अत्याचार गरेको प्रमाणित गरे राजनीतिबाट सन्यास लिने घोषणा गर्दछु, सांसद पदबाटपनि राजिनामा दिन्छु ।’

सांसद थापाले समाज घर राज्यको भएको बताउँदै त्यसमा सबै जात, जाति, लिंग र वर्णको अधिकार रहने बताए । साथै उनले बाटुलेचौरस्थित क्षेत्रीको किरियाघरमा सुनारलाई बस्न दिन आफूले सुझावसमेत दिएको दाबी गरे । उनले २०३८ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेको र यो ४० वर्षमा आफूले कहिल्यै छुवाछुत वा विभेद नगरेको बताउँदै आगामी दिनमापनि छुवाछुत र विभेद नगर्ने र गर्नपनि नदिने दृढता व्यक्त गरे । साथै उनले बाटुलेचौरस्थित गन्धर्व समुदायमा एक घर एक रोजगारी, एक घर एक रोपनी जग्गा दिलाउने आफू नै भएको उल्लेख गरे ।

You might also like

Comments are closed.