विमा रकम हत्याउन र सालीलाई घरवाली बनाउन श्रीमतीको हत्या

सन्देश श्रेष्ठ
पोखरा, १ साउन । पोखरा १५ का रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ घर भई रामबजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका रमेश नेपालीले आफ्नै २७ वर्षीया श्रीमती लक्ष्मी परियारको हत्या गरेका हुन् । उनले प्रेमिका अनु परियारको उक्साहटमा भारतीय कन्ट्रयाक्ट किलर प्रयोग गरेर हत्या गरेको खुलाशा भएको हो ।

घट्ना गत असार १ गतेको हो । कास्की प्रहरीमा श्रीमती हराएको भन्दै खोजिका लागि असार २ गते निवेदन आयो । लक्ष्मी हराएको सूचना पाएलगत्तै प्रहरी भने उनको खोजिमा खटिएको थियो । लगातार खोजिमा खट्दा पनि प्रहरीले लक्ष्मीको सुईंको पाउन सकेन । घर परिवारदेखि स्थानीयसँग सोधपुछ गर्दापनि लक्ष्मीको सुईंको नपाएपछि प्रहरी हैरानमा थियो । तर असार २५ गते घट्नामा नयाँ ट्विस्ट आयो । प्रहरीले लक्ष्मीको हत्याको शंकामा निवेदक लक्ष्मीकै श्रीमान रमेशलाई पक्राउ ग¥यो ।

शंकाको मुख्य कारण थियो लक्ष्मीको अन्य कोहीसँग सम्बन्ध नहुनु र उनले प्रयोग गर्दै आएको मोबाइल रमेशको मोबाइल पसलमै हुनु । त्यतिमात्र होइन लक्ष्मीको ४ महिनाअघि मात्र १ करोड रुपैयाँको वीमा गरेकाले पनि प्रहरीलाई रमेशप्रति शंका गर्न बाध्य बनायो ।

श्रीमतीको खोजि गरिदिन भन्दै दिनहुँ प्रहरी कार्यालय धाउने रमेश आफैलाई प्रहरीले शंका गरेर पक्राउ गरेपछि आत्तिए । उनी प्रहरीको अनुसन्धानका क्रममा तुरुन्तै हायलकायल भए र हत्या आफ्नै योजनामा भएको स्वीकारे । उनको बयानका आधारमा कास्की प्रहरीले मृतक लक्ष्मीको कंकाल पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीस्थित कर्कले जंगलबाट बरामद ग¥यो ।

रमेशको बयान अनुसार अनु परियारसँग उनको एक वर्ष अघिदेखि प्रेम बसेको थियो । अनु र मृतक लक्ष्मी नाताले टाढाको दिदी बहिनी हुन् । प्रेम झांगिदै गएपछि दुईबीच भेटघाट बाक्लिनुका साथै शारिरीक सम्पर्कसमेत भयो । यो कुरा रमेशको श्रीमती लक्ष्मीलाई थाहा भयो । लक्ष्मीले रमेशलाई अनुसँग टाढै बस्न दवाब दिइन । तर दवाबका बिच उनीहरुको सम्बन्ध भने टाढिनुको सट्टा गाढिदै गयो । यहिबीचमा अनुले लक्ष्मीलाई साइड लगाए आफू श्रीमती बन्न तयार रहेको भन्दै रमेशलाई उकासीन् ।

अनुको कुरालाई रमेशले गम्भीर रुपमा लिदै मनमा राखे । अनुसँग घरबार कस्ने कुरालाई दिमागमा घर बनाएका रमेशले श्रीमती लक्ष्मीलाई साइड लगाउन हत्या गर्ने योजना बनाए । सोही योजना उनले आफ्ना साथी सञ्जय शर्मालाई सुनाए । तर उनले आफ्नै श्रीमतीको नभई एक धनी महिलाको हत्या गर्नुपर्ने र हत्या गरेबापत ठूलो रकम आउने बताए । दुवैजनाको सल्लाह बमोजिम सञ्जयले पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका सर्लाही ईश्वरपुर घर भएका चित्तरञ्जन शाहमार्फत १० लाख रुपैयाँमा भारतीय कन्ट्रयाक्ट किलर मगाए । भारतबाट आएका ३ जना ती कन्ट्रयाक्ट किलर जेठ ३० गते पोखरा आए र पृथ्वीचोकस्थित कोशी होटलमा बास बसे । जेठ ३१ गते रमेशले ती भारतीय कन्ट्रयाक्ट किलरलाई १ लाख रुपैयाँ एडभान्स रुपमा दिए । सोहि दिन रमेश, सञ्जय, चित्तरञ्जनसहित भारतीय कन्ट्रयाक्ट किलर गएर हत्या गर्ने ठाउँको अवलोकन गर्नुका साथै हत्याको सम्पूर्ण योजना बनाए ।

हत्या भएको दिन असार १ गते रमेश र सञ्जयले लेकसाइडस्थित पोखरा बाइक रेण्ट प्रालिबाट ग.११प. ८००३ नम्बरको स्कुटर भाडामा लिए । त्यस्तै पोखरा नयाँबजारस्थित दीपक कार डेकोरबाट ग.१च. २३६३ नम्बरको कारपनि भाडामा लिए । सो कार सञ्जय शर्माले कोशी होटलमा आई चित्तरञ्जनसहित भारतीय ३ जना कन्ट्रयाक्ट किलरलाई लिएर पोखरा २२ पुम्दीभुम्दीस्थित कर्कले जंगल पुगे । लगत्तै रमेश नेपाली पनि श्रीमती लक्ष्मीको खुट्टामा भएको घाउमा जडीवुटी लगाएर निको पार्ने भन्दै जडीवुटी खोज्न लक्ष्मीलाई लिएर कर्कले जंगल पुगे । जंगलमा पुगेपछि रमेशले मलाई पिसाब लाग्यो एकैछिनमा आउँछु तिमी झार खोज्दै जंगलतिर जाउ भने । जडिवुटी सम्बन्धी झार खोज्दै केहि तल पुगेकी लक्ष्मीलाई योजना मुताविक लुकेर बसेका भारतीय कन्ट्रयाक्ट किलरले मुख र आँखामा सल बाँधेर चक्कुले घाँटी रेटेर हत्या गरे । हत्या गरेर जंगलबाट निस्केका भारतीय कन्ट्रयाक्ट किलरले सोहि दिन थप ५ लाख लिएर बाँकी ४ लाख चित्तरञ्जनमार्फत पछि लिने भन्दै भारततर्फ लागे ।

घट्नापछि प्रहरीले रमेश, सञ्जय, चित्तरञ्जन र अनु परियारलाई नियन्त्रणमा लिएको छ । बाँकी भारतीय ३ जना कन्ट्रयाक्ट किलरको भने खोजि भइरहेको तर पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए । पक्राउ गरिएका चारै जनालाई बुधबार सार्वजनिक गरिएको छ । उनीहरुलाई मानव हत्या सम्बन्धी मुद्धा चलाइने उनले जानकारी दिए ।

You might also like

Comments are closed.