पोखरामा उदाहरणीय विवाह, विवाहको दाइजो माक्स र सेनिटाइजर, कटौती गरिएको खर्च सामाजिक संघसंस्थालाई

लेखनाथ । पोखरामा बिहीबार उदाहरणीय विवाह भएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रुप लिइरहेका बेला पोखराका एक जोडी भने फरक उदाहरण प्रस्तुत गर्दै वैवाहिक सम्वन्धमा वाधिएका छन् ।

पोखरा महानगरपालिका वडा नं २७ घर भएकी वेहुली अनुसा बास्तोला र पोखरा ३० घर भएका दिविन भट्टराईबीच वैदिक विधिपूर्वक विवाह भएको हो । वेहुला र वेहुली पक्षका घर परिवार मात्र जम्मा भएर गरिएको उक्त विवाहमा वेहुली पक्षले वेहुला पक्षलाई माक्स र सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्रीलाई दाइजोको रुपमा प्रदान गरे ।

‘संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत रुपमा चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देश मूलक ढंगले विवाह भएको छ,’ वेहुलीका वुवा नेत्रपाणि वास्तोलाले भने ।

लकडाउनका बेला सरकारले तोकेको सामाजिक दुरी कायम राख्दै स्थानीय तहसँग स्वीकृति लिएर उनीहरुले विवाह सम्पन्न भएको हो । वैशाख १३ गते नै विवाह गर्ने पूर्व निर्धारित कार्यक्रम तय भए पनि लकडाउन अझै लिम्बिने अवस्था आएपछि आफूहरु विवाह गर्न राजी भएको बेहुलाका वुवा दीपक भटराईले बताए । विवाह मण्डप तयार पारेर सम्पूर्ण कर्मकाण्ड गरेपनि कम खर्चमा विवाह गर्न सकिन्छ भन्ने उदाहरण दिइएको उनले बताए ।

यसैबीच, विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक संघसंस्थाहरुलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषण गरेका छन् । बिहीबार भएको विवाह समारोहमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई बेहुलीका परिवारले ५५ हजार पाँच सय ५५ सहयोग गरेका हुन् । बेहुलीका वुवा नेत्रपाणि बास्तोलाले उक्त रकम महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्त्ररण गरे ।

कार्यक्रममा कास्की शाखाका अध्यक्ष श्रेष्ठले विवाहमा गरिने फजुल खर्चको कटौती गरेर कम खर्चमा पनि विवाह गर्न सकिने कुराको सिको सबैले गर्नु पर्ने बताए ।

You might also like

Comments are closed.