विवेकशील साझाका गण्डकी संयोजक भन्छन्, ‘लेकसाइड मात्र पर्यटकीय क्षेत्र होइन’

पोखरा, ११ कात्तिक । विवेकशील साझा पार्टीका नवनियुक्त गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । गण्डकी प्रदेश संयोजक घोषणा भएसँगै विवेकशील साझाले राखेको पत्रकार भेटघाटको क्रममा उनले आफ्नो कार्ययोजना पेश गरेका हुन् ।

जिल्ला, नगर हुँदै स्थानीयस्तर सम्मको संगठन निर्माणका लागि आफू अबका दिनमा खटिने उनले बताए । ‘भर्खरै मात्र नेतृत्वमा आएकाले स्थानीय विवेकशील साझाका कार्यकर्ताहरुसँगको निरन्तर भेटघाट र सरसल्लाहबाट मैले यो कामलाई अगाडि बढाउनेछु,’ भण्डारीले भने ।

साथै उनले विवेकशील साझाको नेतृत्वको रुपमा यस क्षेत्रमा रहेका विभिन्न समस्याहरुको उजागर गर्न आफू पछि नपर्ने उनले प्रस्ट्याए । ‘पर्यटन क्षेत्र, शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा देखिएको बेथितीहरुलाई राजनीतिक तवरले उत्थान गरेर ती क्षेत्रको सुधारका लागि अभियान चलाउने मेरो लक्ष्य रहेको छ,’ भण्डारीले भने, ‘राजनीतिबाट मात्र रुपान्तरण सम्भव भएकाले मैले राजनीतिमा आफ्नो पाइला अगाडि बढाएको हुँ ।’

गण्डकी प्रदेश पर्यटकीय हिसाबले बढि सम्भावना बोकेको प्रदेश भएकोले पर्यटनसम्बन्धि एजेण्डाहरुलाई आफूले विशेष रुचीसहित जनतामाझ ल्याउने भण्डारीले बताए । ‘अझै पनि पर्यटनलाई लेकसाइडमा मात्र खुम्चाउने चलन व्याप्त छ । यो कुरालाई मैले राजनीतिक हिसाबबाट विस्तार गर्ने एजेण्डा अगाडि सार्नेछु ।’ उनले भने ।

त्यो सँगै उनले पोखरामा संरचना निर्माणको मापदण्डको विषयलाई पनि उचाले । मापदण्डको उचित प्रयोग नहुँदा यहाँको सुन्दरता दिनप्रतिदिन बिग्रँदै गएको प्रति उनले चिन्ता व्यक्त गरे । त्यो सँगै ताल अतिक्रमणको कुरा बाहिर आएपनि नदि अतिक्रमणको कुरा कसैले बोल्न नसकेको भन्दै उनले त्यसलाई सतहमा ल्याउने बताए ।

त्यसो त अर्को एक प्रसंगमा भण्डारीले सबैलाई वैकल्पिक शक्ति आवश्यक रहेको बताउँदै त्यसका लागि विवेकशील साझा उत्तम विकल्प हुन सक्ने बताए । ‘राजनीतिलाई अझै पनि धार्मिक आस्था झैँ मान्ने परिपाटी छोड्नुपर्छ ।’ भण्डारीले भने–‘राजनीति कुनै सँस्कार होईन ।’ उनले बाजेले मान्दै आएको धर्म नातिले पनि मान्नैपर्ने सँस्कारजस्तो राजनीति हुन नसक्ने ठोकुवा गरे ।

You might also like

Comments are closed.