विश्वकर्मा पूजा पोखरामा धुमधामका साथ गरिदै

आर्थिक आवाज
पोखरा । आज असोज १ गते, विश्वकर्मा दिवस, भगवना विश्वकर्माको धुमधामका साथ पूजा गरेर मनाइदै छ । आजकै दिन वास्तु दिवसपनि मनाइदैछ । विश्वकर्मा पूजाको दिन खासगरी फलाम, धातुलगायतसँग सम्बन्धित मेसिनरी सामानहरुको पूजा गर्ने चलन रहेको छ । आजको दिन कलकारखाना, पार्टपूजा, मेसिन (यन्त्र)लगायतको पूजा गर्ने गरिएको हो । कालिगढहरुलेपनि आज धुमधामका साथ विश्वकर्मा दिवस मनाउँछन् ।

विश्वकर्मा पूजा हरेक वर्ष असोज १ गते अर्थात सेप्टेम्बर १७ तारिखमा मनाइन्छ । विश्वकर्मा बाबाको जन्म भएको दिनको सम्झनामा यो दिवस मनाइने प्रचलन बसेको बताइन्छ । त्यसैले यस दिनलाई विश्वकर्मा जयन्तीपनि भन्ने गरिन्छ ।

विश्वकर्मा पूजा विशेषगरी नेपाल र भारतमा हर्षोल्लासपूर्ण तरिकाले मनाइन्छ । विशेषगरी मारवाडी समुदायले मनाउने प्रचलन रहेको यो पूजा पछिल्लो समय मेसिनरी सामान प्रयोग गर्ने नेपालका सबै समुदायले मनाउन थालेका छन् ।

किम्वदन्ती अनुसार भगवान महादेवले व्रह्मालाई श्रृष्टी र विष्णुलाई सिर्जना गर्ने जिम्मेवारी दिएका थिए । श्रृष्टीको जिम्मेवारी लिएका व्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई जिम्मेवारी सुम्पिए । विश्वकर्मालाई विश्वकै पहिलो ईञ्जिनियर र वास्तुकारपनि मानिन्छ । श्रृष्टीको जिम्मा पाएका विश्वकर्माले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको श्रृजना गरे । त्यसैलेपनि उनको महत्वको वर्णन ऋगवेदमा ११ ऋचाहरु लेखेर उनको स्मरण गरिएको छ ।

सो समयमा विश्वकर्माले अनन्त र अनुपम कृतिहरु सत्ययुग स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेको विश्वास गरिन्छ ।

विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना, कार्यालय, अटोमोवाइल, वर्कसप, फ्याक्ट्रीलगायतमा राखिएका मेसिनको पूजा गरिन्छ । उसो त हिजोआज कम्प्युटरलगायतका उपकरणहरुको पनि पूजा गर्न थालिएको छ । फुल, मिठाई, फलफुल, सुपारी चढाउनुका साथै धूप, फुल, वत्ति बालेर पूजा गरिन्छ । भगवान विश्वकर्मालाई नरिवलको वली दिने चलन रहेको छ । विश्वकर्मा शाकाहारी भएकाले नरिवलको वली दिइने गरिएको बताइन्छ । विश्वकर्माको पूजा गर्दा ओम पृथिव्यै नमः ओम अनन्तम नमः, कूमयि नमः, ओम श्री सृष्टीतनया सर्वसिद्धया विश्वकर्माया नमो नमः भन्दै मन्त्रोच्चारण गरेर पूजा गर्नुपर्ने शास्त्रीय विधी रहेको छ ।

मेसिन वर्षभरिनै नबिग्रियोस् भनेर विश्वकर्माको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए ।

विश्वकर्मा पूजा दिनको ब्यबसायीले बस, ट्याक्सी, माइक्रो, ट्रक तथा घर÷घरमा कार, मोटरसाइकल, स्कुटरलगायतको पूजा गर्ने गरिन्छ । उसो त अटोमोवाइलहरुले पनि धुमधामका साथ पूजा गरेर प्रसाद वितरण गर्ने गर्दछन् । पोखराको लक्ष्मी हाउस, हिमश्री फुड्स प्रालि, कर्माचार्य ग्रुप्स, बतास अर्गनाइजेसनलगायतलेपनि धुमधामका साथ विश्वकर्मा पूजा गर्ने गर्दछन् । उसो त ईच्छाशक्ति अटोमोवाइल, विश्वकर्मा अटोवक्र्स, फोर्ड, हुण्डाई, यामाहा, वीगो, हिरो, होण्डालगायतका सबै व्राण्डका पोखरा बिक्री केन्द्रहरुमा पनि विश्वकर्माको पूजा गर्नुका साथै प्रसाद वितरण गरिन्छ । पछिल्लो क्रममा रेडियो, टिभी, अनलाइनलगायतका डिजिटल मिडियामा पनि विश्वकर्माको पूजा गर्न थालिएको छ ।

विश्वकर्मा पूजाका लागि व्यवसायीहरुले कार्यालय, फ्याक्ट्री, उद्योग, कलकारखाना, अटोमोवाइल, वक्र्ससप, रिकण्डिसनलगायतमा रहेका मेसिनरी सामानहरु धोईपखाली सफा पारेर राखिएका छन् । साथै ति ठाउँहरु ध्वजापताका टाँसेर दुलही झैं सिंगारिएका छन् । मंगलबार पूजा गरेपछि प्रसाद ग्रहणका लागि उनीहरुले आमन्त्रणसमेत गरेका छन् । प्रसाद ग्रहण दिनभरी नै चल्ने जनाइएको छ ।

You might also like

Comments are closed.