विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

तनहुँ, २० बैशाख

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार नेपाल पत्रकार महासंघ तनहुँ शाखाले दमौलीमा प्रभातफेरी निकालेको छ । ‘प्रजातन्त्र र शान्तिका लागी मिडिया ः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन ’ भन्ने मूल नारासहित अनसन चौतारीबाट सुरु भएको प्रभातफेरी कार्यक्रम ट्राफिक चोक, भोर्लेटार चोक, डाङग्रेखोल्सी हुदै प्रशासन चोकमा आई कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओमकार आचार्यले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको भएतापनि त्यसलाई व्यवहारमा प्रत्याभूत गर्न नसकिएको बताए । समाचार लेखेकै आधारमा पत्रकारलाई सजाय गर्नु, विभिन्न आरोप लगाई र्दुव्यवहार गर्ने जस्ता गतिविधिले प्रेस स्वतन्त्रताप्रति नै प्रश्नचिह्न खडा भएको उनको भनाई थियो । अझै पनि बिभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको चर्चा गर्दै आचार्यले पूर्णरुपमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमा महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष डम्बर अधिकारी नेपाल बार एसोसियसन तनहुँका पूर्व अध्यक्ष कमलामोहन वाग्लेले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सक्दा पनि प्रेस स्वतन्त्रताको लागी पत्रकारहरु लडिरहनुपर्ने अवस्था रहनु दुखद भएको टिप्पणी गरे । प्रेस स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक सरकारको दायित्व भएको चर्चा गर्दै उनीहरुले निर्वाध रुपमा पत्रकारिताको उचित वातावरण निमार्ण गर्न सरकारलाई आग्रह गरे ।

कोणसभामा पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य गोरा मियाँ, प्रेस युनियन तनहुँका उपाध्यक्ष पवन पौडेल, प्रेस चौतारी नेपाल तनहुँका उपाध्यक्ष राजकुमार श्रेष्ठ, रिपोटर्स क्लब गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले, महासंघका उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेल लगायतले पुर्ण प्रेस स्वतन्त्रता ग्यारेण्टी हुनुपर्ने माग राखेका थिए ।

You might also like

Comments are closed.