विश्व मत्स्य दिवसको अवसरमा फेवातालमा १० हजार भुरा छाडियो

सन्देश श्रेष्ठ
पोखरा, ५ मंसीर

विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ । विश्व मत्स्य दिवस नोभेम्बर २१ को दिन मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमास्थानिय प्रजातीका माछाका १० हजार भुरा छाडिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले माछाका भुरा फेवातालमा छाडिन् । फेवातालमा पोखरामा उत्पादित सहर तथा अन्य स्वदेशी माछाका भुराहरु छाडिएको मत्स्य अनुसन्धान केन्द्र पोखराका निर्देशक अग्नी नेपालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानिय प्रजातीका माछा लोपोन्मुख अवस्थामा पुगेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिईन् । उनले माछाको उत्पादन र बजारीकरण बढेमात्रै त्यसमा निर्भर जलारी समुदायको पनि उत्थान हुने बताउँदै त्यसका लागि महानगरपालिकाले सघाउने प्रतिबद्धता जनाईन् ।

उपप्रमुख गुरुङले फेवाताल बिना पोखराको अस्तित्व नरहने बताउँदै यसको संरक्षण गर्नुपर्ने पनि बताईन् । उनले भनिन्,‘फेवाताल छैन भने पोखराको अस्तित्व रहँदैन, त्यसैले फेवातालको संरक्षण गर्नुपर्छ र त्यसका लागि सबै जुट्नुपर्छ ।’ उनले फेवातालको संरक्षण गर्न महानगरपालिकाले योजना बनाइरहेको बताईन् । गुरुङले लेकसाइडका होटल तथा घरहरुबाट फेवातालमा सिधै ढल पुग्ने भएकाले त्यसलाई रोक्न महानगरपालिकाले योजना बनाइरहेको र चाँडै कार्यान्वयनमा जाने बताईन् ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले महानगरले स्थानिय प्रजातीका माछा र त्यसमा निर्भर जलारी समुदायको संरक्षणका लागि योजना बनाएर काम गर्ने बताए । उनले विश्व मत्स्य दिवसको अवसरमा महानगरले महानगरभित्र पर्ने अन्य तालहरुमा माछाका भुरा छाड्ने कार्यक्रम गरिएकोपनि जानकारी दिए ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फेवातालमा स्थानिय जातका माछा लोप हुँदै जानुका साथै माछाको उत्पादन घट्दै जाँदा आफूहरु संकटमा परेको बताए । उनले आफूहरुको जिविकोपार्जनको मूख्य आधार माछा भएकाले यसको उत्पादनमा जोड दिनुपर्ने बताए ।

मत्स्य अनुसन्धान केन्द्र पोखराका निर्देशक अग्नी नेपालले लोप हुन लागेका माछा बढाउन माछाको भुरा छाडेको जानकारी दिए ।

You might also like

Comments are closed.