वुद्ध विशाल बजारमा ग्राहकको आकर्षण बढ्दो छ : खत्री

केशवबहादुर खत्री
अध्यक्ष
वुद्ध विशाल बजार व्यापारिक एशोसिएसन

 

वुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको हालै सम्पन्न १९औं साधारणसभा तथा दशौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित केशवबहादुर खत्रीसँग भावी योजना तथा एसोसिएसनका विविध गतिविधिमा केन्द्रित रहेर गरिएको कुराकानीको सारः

वुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यो पदीय जिम्मेवारीलाई कसरी बहन गर्नुहुन्छ ?
एसोसिएसनमा आबद्ध साथीहरुको मायाले मलाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्नुभएको छ । म उहाँहरुको माया र विश्वासलाई डगमगाउन दिने छैन । उहाँहरुले दिएको म्यान्डेट अनुसार नै मैले काम गर्नेछु । मैले तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम गर्ने सोच बनाएको छु । मेरा हरेक योजनामा सबै साथीहरुको साथ पाउनेमा म पूर्ण विश्वस्त छु ।

कार्यकालमा तपाईंका प्राथमिक क्षेत्रहरु केके रहन्छन् ?
अहिलेको समय प्रतिश्पर्धात्मक समय हो । धेरै काम हामीले गर्नुपर्ने छ । बुद्ध बिशाल बजारको प्रवद्र्धन गर्न विभिन्न काम गर्नु जरुरी छ । अहिलेको समय प्रविधिको समय हो । हामीले यहाँ भित्र वाइफाइको व्यवस्था छिट्टै गर्नेछौं । ग्राहकको लागि पनि यो उपयुक्त हुनेछ । सुुरक्षालाई व्यवस्थित गर्नेछौं । व्यापार व्यवसाय प्रवद्र्धनको लागि ग्राहकलाई मध्यनजर गरेर विभिन्न योजना ल्याउँछौं । जसले ग्राहकलाई आकर्षित गर्न सकियोस् र व्यवसायमा टेवा पुगोस् । हामीले यस भन्दा पहिले पनि विभिन्न उपहार योजना ल्याएका थियौं । त्यसमा हामी पूर्ण सफल भयौं । सबैको सकारात्मक सहयोगका कारण उपहार योजना पनि सफल तथा उपलब्धिमुलक भएका छन् । व्यावसायिक हकहित नै हाम्रो पहिलो प्राथमिकता हो ।

सुरक्षा व्यवस्थापन अन्तर्गत के गर्ने सोच हो ?
सुरक्षा व्यवस्थाको लागि उपयुक्त स्थान हेरेर सिसी क्यामरा पनि हामी जडान गर्नेछौं । बजारलाई चुस्त दुरुस्त राख्न तथा यस क्षेत्र भित्र कुनै पनि अप्रिय घटना नघटुन् भनेर सुरक्षा गार्डको व्यवस्था गरिएको छ उहाँहरुलाई वाकीटकीको व्यवस्था गर्नेछौं । संयोगवस कुनै घटना घटेमा पनि त्यसलाई छिट्टै समाधान गर्न तथा नियन्त्रण गर्न सजलो होस भनेर वाकी टकीको व्यवस्था गर्न लागिएको हो ।

पछिल्लो समय बजारमा प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धाको सामाना वुद्ध विशाल बजारले कसरी गर्छ ?
हाम्रो बजार धेरे पुरानो हो । अहिले सुविधा सम्पन्न ठुला ठुला कम्प्लेक्स तथा सपिङ मल खुल्न थालेका छन् । हामीले तिनीहरुसँग प्रतिश्पर्धा गर्नुपर्छ । यसका लागि हामीले यहाँका समस्या न्युनीकरण गर्दै लैजाने र ग्राहकमैत्री वातावरण निर्माण गर्नेछौं । काम छिटो भन्दा छिटो शुरु हुनेछ । बजार पुरानो भएकै कारण कतिपय काम गरेर पनि नगरेजस्तो भएको छ । सरसफाइको काम हामी दैनिक गर्छौं तर यो खासै देखिदैन । हामीले यसको शौन्दर्य बढाउने हिसावले समय सापेक्ष रुपमा यसको व्यवस्थापन गर्नेछौं । भुइँमा टायल र सिलिङमा जिप्सन राख्नेछौं । हामी अन्य बजार भन्दा व्यावसायिक सफलतामा अगाडि हुनेछौं । महानगर भित्र विभिन्न कम्प्लेक्स बनिरहेका छन् तर सबै कुरा मिलेको हामीले देखेका छैनौं । हाम्रो बजारको भवन होचोे भएपनि मिलेको छ । दुई तिर ाट जाने आउने बाटो छ । सुरक्षित पनि छ ।

यहाँको मुख्य समस्या के छ ?
केही समस्या अवश्य नै हुन्छन् । ती समस्याहरुलाई हामी व्यवस्थित गर्नेछौं । अहिलेको मुख्य समस्या पार्किङ हो । यसको समाधानको लागि हामी छिट्टै उपयुक्त स्थान खोज्नेछौं र समस्याको समाधान गर्नेछौं । करिव ३ महिना भित्र यो समस्या हल गर्ने लक्ष्य लिएका छौं । यहाँ भित्र रहेको पार्किङलाई ग्राहकले मात्र प्रयोग गर्नेगरी यहाँका व्यवसायीहरुका लागि अन्यत्र पार्किङको व्यवस्था मिलाउँछौं ।

अब शनिबार पनि बजार खोल्ने तयारी हो ?
हामीले शनिबार बजार बन्द गर्दै आइरहेका छौं । जसका कारण हाम्रा ग्राहक अन्य स्थानमा जाने सम्भावना हुन्छ । ग्राहकलाई शनिबार फुर्सद हुने हुँदा शनिबार पनि बजार खुला राख्ने योजना हामीले बनाएका छौं । प्रत्येक शनिबार ३५ देखि ५५ प्रतिशतसम्म छुटमा सामान बिक्री गर्ने हामीले सोच बनाएका छौं । माघ ६ गते शनिबारबाटै बजार अब खुल्ला रहन्छ । बुद्ध बिशाल बजारमा राम्रो सामान सस्तोमा पाइन्छ भन्ने सन्देश पनि हामी दिनेछौं । यसको कार्यान्वयनको लागि सम्पुर्ण साथीहरुको साथ र सहयोग रहनेछ भन्ने मलाई विश्वास छ । यसलाई हामीले छिटो भन्दा छिटो कार्यान्वयन गर्नेछौं । कहिल्यै हाम्रोमा नआउने ग्राहक पनि आउनुहुनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?
जति पुरानो त्यती राम्रो भने जस्तै गरेर पहिला अन्य कुनै पनि सपिङ सेन्टर नभएको अवस्थामा निकै ठुलो महत्व यसको थियो । ग्राहकमैत्री वातावरणका साथ हामी यसलाई विकास तथा बिस्तार गर्नेछौं । यहाँ १ सय ७३ जान व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सबै व्यवसायी व्यावसायिक हकहितका लागि एक आपसमा जुटेर यसको प्रवद्र्धनमा लाग्नेछौं ।

You might also like

Comments are closed.