‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’मा मनीषा कोइराला र आनी छोइङ

आर्थिक आवाज
पोखरा । ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ शीर्षकमा मनीषा कोइराला र आनी छोइङले पोखरामा संवाद भरेका छन् । उक्त संवादमा एसिड आक्रमणमा परेका संगीता मगर र सीमा बस्नेत पनि वक्ता थिए । उनीहरुसँग पत्रकार यज्ञेशले अन्तरसंवाद गरे । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ को अन्तिम दिन मंगलबार उक्त सेसनमा छलफल भएको हो । सेसनमा कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरण एवं देशभर बढिरहेका हत्या, हिंसा र बलात्कारका विषयमाथि छलफल भयो ।

अभिनेत्री मनीषा कोइरालाले बलात्कार जस्ता घटना बढ्नुमा कानुन कार्यान्वयनको पाटो फितलो हुनु कारण रहेको बताइन् । साथै घरपरिवारमा पनि छोरा र छोरीबीच गरिने भेदभाव नहटेसम्म समृद्ध एवं विकसित नेपालको सपना देख्न नसकिने उनको भनाइ छ ।
बलात्कार एवम् एसिड आक्रमण गर्नेहरु समाजमा खुलेआम हिँडिरहँदा समेत सरकारले उनीहरुलाई उचित दण्डसजायको व्यवस्था नगर्नु लाजमर्दाे विषय रहेको उनले बताइन् । यस्ता घटना घटिरहनुपर्नेमा अझ बढ्दै जाँदा त्यसले आफू जस्ता नागरिकलाई लज्जामा पारेको उनको भनाइ छ ।

उक्त सेसनमा आनी छोइङले नारीहरुलाई कम नआँक्न र उनीहरु अब सचेत एवम् जागरुक भइरहेको धारणा राखिन् । साथै उत्पीडकलाई दण्डसजायको व्यवस्था चुस्तदुरुस्त पार्नुपर्नेमा उनको जोड छ । समाजमा महिला हिंसाका घटनालाई देख्दा कहिलेकाहीँ आफैंले पनि महाकालीको रुप धारण गरेर त्यस्ता अपराधी एवम् कुकृत्य गर्नेलाई सजायँ दिन मन लाग्ने गरेको पनि उनले बताइन् ।

कार्यक्रममा एसिड प्रहारमा परेकी संगीता मगरले अझै पनि एसिड प्रहारकर्ताले जेलबाटै धम्की दिइरहेको र उसमा अलिकति पनि पश्चात्तापबोध नभएको बताइन् । त्यति मात्र नभई उसले जेलबाटै आफ्नो परिवारलाई धम्की दिइरहेको र जे पनि गर्न सक्ने आशयका धम्कीपूर्ण भनाइ दिइरहेको उनले गुनासो गरिन् । एसिड आक्रमणमा परिसकेपछि आफूलाई सर्जरी गर्नका लागि आर्थिक सहयोग नपुगेको मात्र बताइनन्, आफ्नो परिवारले दुःख गरेरै उपचार खर्च जुटाइरहेको बताइन् ।

कार्यक्रममा सीमा बस्नेतले गायिका बन्ने लक्ष्य लिएर अघि बढेकी आफूमा एसिड आक्रमणपछि राजनीतिमा आउने र समाजमा व्याप्त विकृति उन्मूलन हटाउने काममा लागिपर्ने सोच आएको जानकारी दिइन् । एसिड आक्रमणमा पर्दा आफूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरबाट साथसहयोग मिले पनि सरकारी स्तरबाट भने उचित सहयोग नपाएको गुनासो गरिन् । र, आफूले पछि तत्कालीन प्र्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधन गरेर लेखेको चिठीले भने तत्कालीन गृहमन्त्री वामदेव गौतम आफूलाई भेट्न आएको प्रसंग पनि कोट्याइन् । त्यसैले आफूले अब राजनीतिका माध्यमबाट समाज परिवर्तनको उद्देश्य राखेको र त्यकसा लागि उच्च शिक्षा हासिल गरिरहेको सीमाले बताइन् । साथै घटना अनुसन्धानमा प्रहरीको लाचारीपन, लामो समयसम्म पनि हत्यारा पक्रिन नसकिएको र घटना झनै रहस्यमय बन्दै जानु दुःखद विषय रहेको वक्ताहरुको गुनासो थियो । त्यसैले यस्ता जघन्य अपराधमा प्रहरीको भूमिकामाथि पनि उनीहरुले शंका गर्ने ठाउँ रहेको धारणा राखे । उनीहरुले आपराधिक घटनामा सरकारले पीडितलाई जतिसक्दो छिटो न्याय दिलाउन सक्नुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.