व्यवसायीका समस्या समाधानमा सधैं सक्रिय रहन्छुः बराल (अन्तर्वार्ता)

सीता बराल
उपमहासचिव पदका उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन यही असोज ५ र ६ गते हुँदैछ । चुनावी मिति नजिकिएसँगै उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । संघको बर्तमान कार्यसमितिमा महिला उद्यमी विकास समिति संयोजक रहेर काम गरेकी महिला उद्यमी सीता बरालले उपमहासचिवमा उम्मेदवारी दिएकी छन् । बरालसँग घरदैलो क्रममा प्राप्त प्रतिक्रिया, चुनावी अभियान, उम्मेदवारीको कारण लगायत विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

चुनाव मिति नजिकिएको छ । घरदैलोको क्रममा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
पोखरा उद्योग वाणिज्य संघको चुनाव मिति नजिकिएको छ । आम उद्योगी व्यवसायीले महाधिवेशनलाई चासोको साथमा हुेर्नुभएको छ । अहिलेको माहोल अनुसार मैले व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएको छु । व्यावसायिक काम गरेका तथा नेतृत्व क्षमता पनि भएका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने आम उद्योगी व्यवसायीको भनाइ छ । पोखरा गण्डकी प्रदेशको राजधानी हो । सबै उद्योगी व्यवसायीलाई समेटेर लैजानसक्ने क्षमता भएको व्यक्ति चुन्नुपर्छ भनेर व्यवसायीहरुले भन्नुभएको छ । पक्कैपनि योग्य व्यक्तिलाई नै चुन्नुहुनेछ भन्ने मेरो आशा छ ।

उपमहासचिवमा तपाईंको उम्मेदवारी किन ?
अध्यक्षका प्रत्यासी दामु अधिकारीको प्यानलबाट मैले उपमहासचिवमा उम्मेदवारी दिएको छु । व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्नु जरुरी छ । सुन्दर शहर भनेर चिनिएको पोखरा अव्यवस्थित पार्किङका कारण कुरुप बनेको छ । समस्या समाधानको लागि सहजकर्ताको भूमिका खेल्नेछु । व्यवसाय असुरक्षित छ । यसलाई सुरक्षित बनाउन विभिन्न स्थानमा सिसी टि.भी क्यामरा राख्नु आवश्यक छ । यसको लागि पनि हामी पहल गर्नेछौं । व्यावसायिक क्षेत्रमा कर पनि मुख्य समस्या बनेको छ । यसको समाधान गर्नु आवश्यक छ । व्यवसायीलाई कर शिक्षा सम्वन्धी तालिम तथा प्रशिक्षण दिनुपर्छ । व्यवसाय सञ्चालन गर्दा घरभाडा पनि समस्या बन्ने गरेको छ । यसको सहजीकरणको लागि भुमिका खेल्नका लागि पनि मेरो उम्मेदवारी हो । पोखरा आपासका सबै व्यवसायी अट्नेगरी छहारी बनेर समस्या समाधानमा हामी लाग्नेछौं । पोखरा उद्योग वाणिज्य संघ र व्यवसायीबीचको सम्वन्ध अभिभावक र सन्तानको नाता जस्तै बनाउन लाग्नेछु । व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघ हाम्रो अभिभावक हो र हामीलाई समस्या पर्दा समाधानमा पहल गर्छु भन्ने भावना जगाउनु आवश्यक छ । व्यवसायीसँग मिलरे काम गर्ने वातावरण हुनुपर्छ ।

महिला उद्यमका बारेमा तपाईको धारणा के छ ?
म आफै पनि महिला उद्यमी हुँ । धेरै भन्दा धेरै महिला उद्यमी उत्पादन गरेर महिलालाई स्वरोजगार बनाउने तथा आर्थिक रुपमा समृद्ध बनाउने मेरो लक्ष्य छ । पोखरा पर्यटकीय शहर हो । पोखरेली महिलााले बनाएका सामग्री विदेशसम्म पु¥याउने तथा प्रवद्र्धनमा लाग्नेछु । कोशेलीघर निर्माण हुनुपर्छ । पोखरा आएका पर्यटक त्यहाँ गएर पोखरेली महिला दिदी बहिनीले बनाएका हस्तकलाका सामान किनेर लैजानसक्ने वातावरण सृजना गर्नुपर्छ । जसले महिलालाई उद्यम गर्न थप उत्साही बनाउँछ । पोखरामा पर्यटकको आगमन भएपछि नै हाम्रा सबै व्यवसाय फस्टाउने हुन् । पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्न सबै पोखरेली लाग्नुपर्छ ।

संघको महिला उद्यम विकास समिति संयोजक भएर के–कस्ता काम गर्नुभयो ?
पोखरा उद्योग वाणिज्य संघमा अघिल्लो कार्यसमितिमा महिला उद्यमी कमिटीमा बसेर काम गर्ने अवसर मलाई मिल्यो । महिला उद्यमी मेला सम्पन्न ग¥यौं । त्यसपछि पनि म अत्याधिक मतका साथ कार्य समिति सदस्यमा निर्वाचित भएँ । महिला उद्यम विकास समिति संयोजक भएर काम गरेको छु । यस समयमा हामीले धेरै काम गर्न सफल भयौं । विभिन्न कमिटी तथा समितिमा बसेर काम गरेको अनुभव मसँग छ । मेला तथा महोत्सवमा पनि मैले सक्रिय रुपमा काम गरेको छु । महिला व्यवसायीलाई कर तथा व्यवसाय सम्वन्धी कुराको जानकारी दिन विभिन्न कार्यक्रम ग¥यौं र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिइनेछ । कतिपयलाई व्यवसाय दर्ता गरेर संचालन गर्नुपर्छ भन्ने सामान्य जानकारी पनि थिएन । कर तिर्नु व्यवसायीको दायित्व हो र हामीले व्यवसाय दर्ता गरेर संचालन गर्नुपर्छ र राज्यबाट पाहिने सेवा सुविधा लिनुपर्छ भन्ने कुरा बुझायौं ।

महिला उद्यमी मेला कस्तो रह्यो ?
संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा महिला उद्यमी मेला हामीले सम्पन्न गर्न सफल भयौं । नेपालभरीका महिला उद्यमीहरुको उपस्थितिमा आयोजित महिला उद्यमी मेलाको संयोजक म आफै थिएँ । मेलाले महिला उद्यमीलाई एक आपसमा अनुभव साटासाट गर्न पनि पुलको काम ग¥यो । मेलामा विभिन्न व्यावसायिक तालिम तथा स्वास्थ्य शिविर पनि हामीले संचालन गरेका थियौं । यसले पोखरा उद्योग वाणिज्य संघको गरिमालाई पनि बढाएको छ । मलाई विश्वास गरेर जुन जिम्मेवारी प्रदान गरिएको थियो त्यो जिम्मेवारी मैले राम्रोसँग पुरा गरेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?
बिगत १० वर्षदेखि म व्यावसायिक क्षेत्रमा आवद्ध छु । म कपडा व्यवसायी हुँ । बिगत ४ वर्षदेखि म पोखरा उद्योग वाणिज्य संघमा छु र सबै व्यवसायीको हितमा काम गरिरहेको छु । अब पनि सबै व्यवसायीको समस्या समाधान गर्न महत्वपूर्ण भुमिका खेल्नेछु । अहिले मैले जसरी सम्पूर्ण व्यवसायीको साथ पाएको छु, भोलिको दिनमा पनि पाउनेछु भन्ने मलाई विश्वास छ । म क्रमिक रुपमा आउने प्रयत्न गरेको छु । पोखरा उद्योग वाणिज्य संघमा महिला उद्यमी विकास समिति संयोजक भएर काम गर्दा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिको सदस्यमा मनोनित भएर काम गर्ने अवसर पाएको छु । यससँगै नेतृत्व तहमा काम गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिएको हुँ । विभिन्न सामजिक संघ संस्थामा काम गरेको अनुभव पनि मसँग छ । महिला उद्यामीसँग भेटेर समस्या बुझ्ने र समाधानमा पहल गर्दै आइरहेको छु । यही असोज ५ र ६ गते हुनेसंघको ३२औं महाविधेशनमा अत्याधिक मतका साथ मलाई उपमहासचिवमा विजयी बनाउनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

You might also like

Comments are closed.