व्यवसायी बिमलको ‘ड्रिम प्रोजेक्ट’, पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै (थ्रिडि फिचर्ससहित)

सुरेन्द्र पौडेल
पोखरा, ३ भदौ । युवा व्यवसायी बिमल बसेलको एउटा सपना थियो, ‘नेपाललाई चिनाउने गरी कुनै न कुनै नमुना काम गर्नुपर्छ ।’ संसारका विकसित देशहरुको भ्रमणले उनलाई आफ्नो सपना पुरा गराउन बारम्बार प्रोत्साहन गरिरहन्थ्यो । विकसित देशमा सम्भव ठूला प्रोजेक्टका जस्तै काम नेपालमा किन सम्भव छैन ? उनले सोचिरहन्थे । अब भने उनको सपना बिपनामा रुपान्तरणमा अगाडि बढिसकेको छ । बसेलको ‘ड्रिम प्रोजेक्ट’को काम सुरु भइसकेको छ ।

बसेलको अगुवाईमा पोखरामा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । अबको तीन वर्षभित्र निर्माण सक्नेगरी ‘लेक भ्यु रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माणका काम अगाडि बढेको हो । पोखरा १८ फेवातालको काख सेदीमा अवस्थित ३६ रोपनी जग्गामा अपार्टमेन्ट बन्न लागेको हो । ८ अर्ब रुपैयाँको लागतमा अपार्टमेन्ट बन्न लागेको बसेलले जानकारी दिए । ‘३ तलाको पार्किङसहित १८ तलाको अपार्टमेन्ट निर्माण हुन्छ,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्नेछौं ।’

४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गरिने बसेलले जानकारी दिए । ‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण गरिनेछ । ‘टाइम सेयरिङ अपार्टमेन्टका आफ्नै विशेषता छन्,’ बसेलले भने, ‘जसले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’ अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, सुपरमार्केट, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, स्विमिङ पुल लगायत मानवीय आवश्यकता प्रशस्त सुविधा रहने बसेलले जानकारी दिए ।

पृथक प्रकारको परियोजना भएकाले पोखराको पर्यटनमा अतुलनीय टेवा पुग्ने बताउँछन् बसेल । परियोजनाले गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानी आकर्षणमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । अपार्टमेन्टको बार्दलीबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिनेछ । नमुनायोग्य प्रोजेक्टले पोखराको पर्यटन क्षेत्रलाई ब्राण्डिङ गरेर संसारभर चिनाउन योगदान पु¥याउने बसेलले विश्वास लिएका छन् ।

परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिए । ‘अब द्रुत गतिमा निर्माणको काम अगाडि बढ्छ,’ उनले भने, ‘लक्षित समयमा नै निर्माण सकिनेछ ।’ संसारकै उत्कृष्ट अवधारणाबाट अपार्टमेन्ट निर्माण हुने कन्सल्टेन्ट थानेश्वर बसेलले बताए ।

अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने उनले जानकारी दिए । परियोजनाका अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ । १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरिएकोछ ।

परियोजनाको शनिबार एक कार्यक्रमका बीच प्रिलन्च गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतथि गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षण गर्ने बताए । बसेलको अगुवाईमा निर्माण हुन लागेको अपार्टमेन्टले प्रदेशमा अन्य लगानी भित्र्याउन पनि योगदान पु¥याउने उनको भनाइ छ ।

 

You might also like

Comments are closed.