व्यवसाय प्रवर्धनका लागि मेला सहयोगी हुनेछः महासचिव अधिकारी

दामु अधिकारी
महासचिव
पोखरा उद्योग वाणिज्य संघ

दामु अधिकारी

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सफल औद्योगिक राष्ट्रिय व्यापार मेला हुँदैछ । यही पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुने मेलाका विविध विषयमा केन्द्रित रहेर संघमा महासचिव तथा प्रचार–प्रसार संयोजक दामु अधिकारीसँग आर्थिक आवाजका लागि गरिएको कुराकानीः

मेलाका विशेषताहरु के–के छन् ?
हामीले सकेसम्म मेलालाई बिगतका वर्षहरुमा भन्दा परिस्कृत र परिमार्जन गर्ने प्रयास गरेका छौं । सफल राष्ट्रिय औद्योगिक व्यापार मेलामार्फत यस क्षेत्रका स्थानीय उत्पादनको बजारीकरण गर्ने हाम्रो लक्ष्य छ । यस पटक मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरुको बृहत प्रदर्शनी तथा बिक्री पनि मेलाको आकर्षण बन्नेछ । पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीले मेलामा प्रदर्शन गर्ने रोबोटिक हन्ड्रेड हाउस (भूत घर) पनि मेलाको थप आकर्षण बन्नेछ ।

मेलाका आकर्षणमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि, पुष्प, अटो मेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको गतिविधीहरुको प्रदर्शनी रहनेछ । मेलामा दैनिक उपभोग्य वस्तु तथा घरायसी सामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण हुनेछ । लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य र रत्यौली प्रतियोगिता पनि मेलाको आकर्षण बन्नेछ । मेलामा उपस्थित दर्शकलाई हामीले भरपुर मनोरञ्जन प्रदान गर्नेछौं । पोखरा तथा समग्र देशकै औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउन मेला सफल हुनेछ । मेला प्रदेश नम्बर ४ को व्यवसाय बिस्तारको सम्भावनाको खोजी गर्न समर्पित हुनेछ । मेलाबाट पर्यटकीय सम्भावना उजागर गर्नेछौं ।

मेलामा कति वटा र कस्ता–कस्ता स्टल रहन्छन् ।
मेलामा डोममा निर्मित विशेष प्रकारका स्टलहरु सहित २ सय ८० स्टल रहनेछन् । तीमध्ये डोममा ७८, रेष्टुरेष्ट १२, अटो ४५, मेड इन नेपाल पेभेलियनमा १०, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ४०, प्mलोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहनेछन् । मेलाको २ लाख दर्शकहरुले अवलोकन हामीले विश्वास लिएका छौं । मेलाका सबै स्टलहरु बुकिङ भइसकेका छन् । नेपाली उत्पादनलाई हामीले विशेष महत्व दिएका छौं । व्यवसाय प्रवद्र्धनका लागि आउने वस्तुलाई हामीले प्राथमिकतामा राखेका छौं । यसबाट व्यापार भन्दा पनि व्यवसाय प्रवद्र्धन होस भन्ने हामीले चाहेका हौं । धेरै भन्दा धेरै उत्पादनलाई हामीले प्राथमिकता दिएर स्टल व्यवस्थापन गरेका छौं ।

सुरक्षा व्यवस्थापन कसरी मिलाउनुभएको छ ?
मेला स्थलमा कडाइका साथ सुरक्षाको प्रवन्ध मिलाइएको छ । विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्दैछौं । विभिन्न ठाउँबाट सिसी क्यामरामार्फत २४सै घन्टा निरीक्षण गरिनेछ । बिमाको व्यवस्था पनि गरिएको छ । सुरक्षा व्यवस्थापन उपसमितिले सुरक्षाको व्यवस्थापन मिलाउन सम्पूर्ण जिम्मेवारी सहित तयारी पुरा गरेको छ । यसका लागि सशस्त्र र नेपाल प्रहरीसँग पनि सहकार्य गरिएको छ ।

मेलाको प्रचार–प्रसार कसरी गरिरहनुभएको छ ?
मेला सफल पार्न सबैभन्दा महत्वपूर्ण पाटो प्रचार–प्रसार मानिन्छ । प्रचार–प्रसारलाई यसपटक व्यवस्थित रुपमा गरिरहेका छौं । पोखरामा मात्र सीमित नभइ आसपासको क्षेत्रमा पनि मेलाको प्रचार–प्रसार गर्दै मेला अवलोकनका लागि पोखरा आउन आह्वान गरेका छौं । पोखराबाट प्रशारण तथा प्रकाशन हुने टेलिभिजन, एफ.एम, पत्रपत्रिका, अनलाइनसँग हाम्रो समन्वय भइरहेको छ । राािष्ट्रय लगायत सम्पूर्ण सञ्चार माध्यमको पनि प्रचार–प्रसारमा पूर्ण साथ छ । प्रचार प्रसारमा प्रविधिको भरपुर सदुपयोग भइरहेको छ ।

मेलाको आम्दानीलाई कसरी सदुपयोग गर्नुहुन्छ ?
मेलाबाट ९० लाख रुपैयाँ आम्दानी गरी खर्च ६० लाख कटाउँदा ३० लाख रुपैयाँ बचत हुने हाम्रो अनुमान छ । हामीले हरेक वर्ष मेलाबाट भएको आम्दानीलाई सामाजिक क्षेत्रमा सकेसम्म योगदान पु¥याउँदै आइरहेका छौं । यस पटक हामीले आफ्नो आन्तरिक स्रोत र यसअघीका मेलाबाट भएको आम्दानी सदुपयोग गर्दैै मेलास्थलमा आकर्षक डोम निर्माण गर्ने लक्ष्य लिएका छौं । प्रदर्शनी केन्द्रमा अहिले एउटा मात्र डोम छ भने अब दुई वटा डोम भएपछि अन्य कार्यक्रम तथा गतिविधिका लागि सजिलो हुनेछ । यो पोखराको आवश्यकता पनि हो ।

मेला सफल पार्न व्यावसायिक सहकार्य कसरी भइरहेको छ ?
मेलालाई पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिले विशेष सहयोग गरेको छ भने सफल दूध, हुण्डाई र कुलप्याण्ड स्मार्ट फोनको मुख्य प्रायोजन छ । नेपाल पर्यटन वोर्ड तथा ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रवद्र्धनमा मेला हुन लागेको हो । मेलामा राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ«े बैंक, अर्घाखाँची सिमेण्ट, फर्निचर ल्याण्ड, हरपल फुड प्रालिको हरपल चामलको सहप्रायोजन र विजय डिष्टिलरी र यति ब्रुअरी प्रालिको विशिष्ठ प्रायोजन छ । पोखरा इन्टरनेट प्रालिको क्लियर टिभी मिडिया पार्टनर रहेको मेलामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा प्रायोजक छ । अतिथी रिसोर्ट र माउण्ट कैलास रिसोर्ट पोखरा मेलाको अफिसियल होटल छन् । मेला सम्पन्न गर्न अन्य थुप्रै व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाहरुसँग सहकार्य भइरहेको छ । सबैको साथबाट नै मेलाले सफलता पाउने हो ।

You might also like

Comments are closed.