व्यापार मेलाको पाचौं दिनसम्म ४० हजार दर्शक, बुधबार कमलाको विशेष प्रस्तुति

आर्थिक आवाज
पोखरा, २२ पुस । पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्, जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले । हँसिया, खुर्पा, दाउ, फाली, बञ्चरो, ताप्के, कराई सबै बनाए । काम त जीविकाकै लागि थियो । पहाडिया डिजाइनमा बनेका घरायसी सामानहरु मान्छेले मन पराए ।

‘८ वर्षकै उमेरदेखि काम गर्न थालेको हुँ,’ उनले भने, ‘गौँथलीले गुँड लगाएजस्तै गरि अलिअलि गरेर अहिलेको अवस्थामा आएको हुँ ।’ उनी अहिले पनि भाँडा बनाउँछन् । अहिले उनलाई भाइले पनि साथ दिएका छन् । ४ जनालाई रोजगारी दिने उनको गोर्खाली कृषि औजारले उद्योगकै रुप लिएको छ । कामले माम दिएको छ । उनी आफ्नो काममा सन्तुष्ट मात्रै छैनन्, गुणस्तरीय फलामका भाँडा उत्पादकको रुपमा समेत चिनिएका छन् ।

व्यापार मेलामा रहेको उनको स्टलमा राखिएका सामानहरु उपभोक्ताले मन पराएका छन् । जीतबहादुरका उत्पादनहरुको फिनिसिङ पनि राम्रो छ । यो त उदाहरण मात्रै हो, जारी मेलामा देशैभरका साना उद्यमीहरुको उत्पादन प्रदर्शनी तथा बिक्री बितरण भइरहेको छ । मुस्ताङको सिमीदेखि टिम्बुर, मधेशका उत्पादन तथा जडिबुटीका विभिन्न उत्पादनहरु पनि मेलामा राखिएको छ ।

‘समग्रमा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा घरायसी प्रयोजनमा चाहिने सबैजसो सामानहरु रहेका छन्,’ मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने, ‘मेला मध्यतिर आइपुग्दा सहभागिता पनि बढ्दै गएको छ ।’

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा ‘लगानीको सम्वर्दनः उद्योग व्यवसायको प्रवद्र्धन’ उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार मंगलबारसम्म करिब ४० हजार जनाले मेलाको अवलोकन गरेका छन् । मेलामा आयोजना भएको सांस्कृतिक कार्यक्रममा रौनक थपिँदै गर्दा तथा मेला मध्यतिर आइपुगेपछि सहभागिता बढ्दो क्रममा रहेको उनले दावी गरे । मंगलबार लोकदोहोहीतर्फ राधिका हमाल, सविना गुरुङ, सरस्वती लामिछाने, रीता कार्की कुँवर, शंकर विरही गुरुङ, शिवहरि ढुंगाना, केशव देवकोटा, परशुराम अधिकारी, पपतर्फ सुमित ग्रुप, देउराली ब्याण्ड हाँस्यतर्फ पोखरेली धुर्मुस र माग्ने बूढाको प्रहसनले पनि अवलोकनकर्तालाई मनोरञ्जन गराएको साँस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए ।

बुधबार बालगायिका कमला घिमिरेको विशेष प्रस्तुति रहनेछ । आधुनिक÷पपतर्फ विक्रम बराल, प्राप्ति तुलाचन, राज सिग्देल, लोकदोहोरीतर्फ कमला घिमिरे (बालगायिका), सरिता सारु मगर, सरस्वती परियार, पूर्ण परियार, रामजी पौडेल, अम्बर धिताल, टेक क्षेत्री तथा हाँस्यतर्फ पुर्खे बा (पुरुषोत्तम भण्डारी)को प्रस्तुति रहने छ । यता, मंगलबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान टिकट नम्बर ५२०० लाई र टिकट नम्बर ५११६ सोलार प्यानल उपहार प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.