व्यासमा नमुना युवा संसदको स्थापना र अभ्यास

तनहुँ, २५ चैत,
तनहुँको व्यास नगरपालिकामा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम सोमबार सम्पन्न छ । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्को सहयोग र व्यास नगरपालिकालिकाको व्यबस्थापनमा आयोजित तीन दिने कार्यक्रम नमुना युवा संसदको प्रयोगात्मक अभ्यासको प्रद्धर्शन गर्दै आज सम्पन्न भएको हो ।

नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले युवाहरुलाई संसद संचालनको अभ्यास गराउदै भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पु¥याउने लक्ष्यका साथ राष्ट्रिय युवा परिषदसँग समन्वय गरी नगरभित्रका युवाहरुलाई समेटेर नमूना युवा संसद स्थापना र अभ्यास गराएको शिक्षा शाखा प्रमुख अम्विका आचार्यले जानकारी दिए । उनका अनुसार नेपालमै पहिलो पटक नमूना युवा संसद गठनको अभ्यास गरिएको हो ।  सामाजिक, राजनीतिक, शैक्षिक मुद्धाहरुमा छलफल गर्दा नीति तथा कार्यक्रम ल्याउदा युवाहरुको सहभागीता बारे १६ देखि २४ वर्षका युवाहरुलाई सचेत बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको आचार्यले प्रष्ट पारे ।

नगरपालिकाले नमुना संसद गठनका विभिन्न चरणहरु पूरा गरी छनोटमा परेका युवाबाट नमूना संसद स्थापना र अभ्यास गरेको हो । व्यास नगरपालिकाको १४ वटै वडामा युवा समिति गठन गरी प्रत्येक वडाबाट २ जना प्रतिनिधि तथा नगरपालिकाले ७ जनालाई मनोनित गरी ३५ जनाको संसदबाट आइतबार राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रमुख सचेतक चयन गरी सरकार गठन र प्रतिपक्ष समेत तयार गरी संसदको अभ्यास गरेको हो ।  युवाहरुलाई दुई भागमा विभाजन गरी बहुमत युवाहरुबाट राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, र मन्त्रीहरु चयन गरिएको भने अल्पमतका युवाहरुले प्रतिपक्षको भूमिका निर्वाह गरेको आयोजकले जानकारी दिएको छ ।

यसअघि सनिवारदेखी सोमबारसम्म संघीय युवा प्रधानमन्त्री अशोक खनालले युवाहरुको अवस्था, विश्लेषण, युथ भिजन, युवा नीति, युवा संसदमा उठान हुने विषय, प्रश्नोत्तर तयारी, नेतृत्व विकास तथा उत्प्रेरणा, युवा संसद परिचय र महत्व, नेतृत्व चयन तथा पदीय जिम्मेवारी बाँडफाँड, युवाका सरोकार विधि सम्बन्धी प्रशिक्षकहरु संसदीय अभ्यासको बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै संविधान सभा सदस्य रामचन्द्र पोख्रेल संसद भित्रका अनुभव युवाहरुलाई सुनाएका थिए । त्यस्तै युवा अभियन्ता अपार पौडेलले पनि युवाहरुलाई नेतृत्व तथा क्षमता वृद्धिका लागी उत्प्रेरणा प्रदान गरेका थिए । त्यस्तै नगरप्रमुख बैकुण्ठ न्यौपानेले संघीयता, सरकार र ३ वटै सरकार गठन प्रकृयाको बारेमा जानकारी गराएका थिए ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सदस्य सरिता गुरुङले यस अभ्यासले युवाहरुलाई अनुसाशनमा चल्न सिकाउने बताइन् । युवाहरुलाई संसदीय अभ्यास गराउदै सकारात्मक रूपमा लिन र भविष्यमा त्यो जिम्मेवार योग्य बनाउन कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, नगरपालिका कार्यकारी सदस्य कल्पना पोख्रेल, चन्द्रमाया परियार, शिक्षा शाखा प्रमुख अम्विका आचार्य,  आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, संघीय युवा प्रधानमन्त्री अशोक खनाल, महर्षि वेदव्यास संस्कृत माविका प्रअ तुलशीरमण सिग्देल, शिक्षा शाखाका रामेश्वर लामिछाने, युवाहरुको नेतृत्व क्षमता विकासको दृष्टिले अति नै महत्वपुर्ण कार्यक्रम भएको चर्चा गरेका थिए ।

You might also like

Comments are closed.