व्यास नपा वडा नं १४को सार्वजनिक सुनुवाई 

आर्थिक आवाज

तनहुँ २०,पुस ।

तनहुँको व्यास नगरपालिकाको वडा नं १४बाट गरिएका सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा शनिवार केशवटारमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडास्तरबाटै जनताका गुनासो सुन्ने र सेवा प्रवाह तथा कार्यक्रमका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले वडा नं १४द्धारा कार्यक्रम आयोजना गरिएको हो ।

वडा अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाबासीले सडक, खानेपानी, शिक्षा, इन्टरनेट कृषि, भेटनरी, स्वास्थ्य चौकी लगायतका विषयमा जिज्ञासा राखेका थिए । साथै वडाले योजना छनोट गर्दा टोल स्तरमा पुगेर गनुपर्नेे माग वडावासीले राखेका थिए । कुनै पनि योजनामा रकम विनियोजन गर्दा लागत स्टिमेट गरेर मात्र रकम छुट्याउनुपर्ने उनीहरुको माग थियो । त्यस्तै कृषिमा पाउने अनुदान वास्तविक किसानले पाउनुपर्ने , केशवटार माविलाई नमुना विद्यालयको रुपमा स्थापित गर्नुपर्ने लगायतका मागहरु स्थानीयले राखेका थिए ।

वडाबासीको माग तथा जिज्ञासालाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले यस पटकको बजेटमा खानेपानीलाई पहिलो प्रथामिकता दिएको बताए । ७० लाख बजेट खानेपानीलाई मात्र छुट्याएको श्रेष्ठले बताए । यस बर्ष सम्बोधन गर्न नसकेका योजनाहरु प्राथमिकताको आधारमा पुरा गदै जाने प्रतिवद्धता उनले व्यक्त गरे । एकै पटक धेरै योजना तर्जुमा गर्न भन्दा पनि बजेटलाई एकीकृत बनाएर परिचालन गर्नसके मात्र सुखी र समृद्ध वडाको सपना साकार हुने श्रेष्ठको भनाइ थियो । अन्धाधुन्धा लगानी गर्न भन्दा योजना बनाएर उत्पादनमुखी क्षेत्रलाई बढी प्राथमिकता दिने उनले बताए । साथै वडाबासीले उठाएका जिज्ञासाको व्यास नगरपालिकाका सम्बन्धीत शाखाका प्राविधिकहरुले समेत मेटाएका थिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६मा वडाले ३२ वटा योजना छनोट गरेको थियो । जस मध्ये ३१ योजनाको लागत स्टिमेट भएको, २८ योजनाको सम्झौता भएको, एउटा योजनाको लागत स्टिमेट हुन बाकीँ तथा ४ वटा योजना सम्झौता हुन बाकीँ रहेको, २१ योजना निर्माणधीन र ७ वटा योजना सम्पन्न भइसकेका छन् ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले योजना सम्झौता भएपछि समयमा नै सम्पन्न गर्दा लागत बढी नपर्ने र योजनाको प्रभावकारीता समेत बढ्ने बताए । साथै कुनै पनि योजनाको डिपिआर बनाउने अभ्यास गर्न सके योजना व्यवस्थित हुने उनको भनाइ थियो । होमस्टे, फलफुल तथा तरकारीको पकेट क्षेत्र निर्धारण गर्ने र उन्नत प्रविधि तथा बिउको प्रयोग गरी व्यवसायिक रुपमा सञ्चालन गर्न सके वडाको विकासमा मदत पुग्ने उनले बताए ।

कार्यक्रमको नगरपालिकाका वरिष्ठ आलेप अधिकृत कुमारकञ्चन जिसीले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नं १४ अन्तर्गतका १० वटा टोल विकास संस्थाका बासिन्दाहरुको सहभागीता रहेको थियो ।
व्यास नगरपालिकाको १४ वटा वडा मध्ये वडा नं ३ बाहेक १३ वडामा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको छ ।

You might also like

Comments are closed.