व्यास सहकारी ११औं वार्षिकोत्सव, २८ जनाले गरे रक्तदान

आर्थिक आवाज
तनहुँ, ९ माघ । व्यास नपा २ दमौलीस्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

सहकारी संस्थाको वार्षिकोत्सवको अवसरमा मंगलबार संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको सो कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य तथा सर्वसाधरणहरुले रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी संस्थाहरुले नाफा कमाउने मात्र नभई सामाजिक काममा पनि सक्रियता जनाउनुपर्ने बताए । रक्तदान, फलफूल वितरण तथा बजार सरसफाईको कार्य मानवीय सेवा भएको हुँदा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई त्यस्ता कार्यक्रममा प्रेरित गर्नुपर्ने प्रमुख न्यौपानेले बताए ।

सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले व्यास सहकारीले स्थापनादेखि नै विभिन्न सामाजिक काम गर्दै आएको भन्दै रक्तदानलाई पनि त्यसैको निरन्तरताको रुपमा लिईएको बताए । सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

You might also like

Comments are closed.