व्रिटिस बिरुद्ध विश्वमै राँको बाल्ने उद्घोषसहित तेस्रो चरणको गेसो आन्दोलन घोषणा

सन्देश श्रेष्ठ
पोखरा, ११ मंसिर । गेसो आन्दोलनका अभियन्ता तथा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति पदमबहादुर गुरुङले तेश्रो चरणको आन्दोलन घोषणा गरेका छन् । पहिलो र दोश्रो चरणको आन्दोलनबाट गोर्खालीलाई व्रिटिस नागरिक सरह अधिकार दिलाउन सफल गुरुङले मंगलबार ‘गोर्खा स्मारक’ स्थल साल्मेडाँडामा पत्रकार सम्मेलन गरी तेश्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । उनले व्रिटिस साम्राज्यवादी सरकारले नेपालको सार्वभौम सत्तामाथी अतिक्रमण गर्दै नेपाल र नेपालीहरुलाई बर्बादी बनाइरहेको बताउँदै आफू नेपालको राष्ट्रिय सार्वभौम सत्ता र प्रतिष्ठाका लागि लड्ने उद्घोष गरे ।

गेसोका संस्थापक सभापति गुरुङले अबको लडाईं पूर्व गोर्खा सैनिक जो युद्धमा मारिए, तिनका परिवारलाई क्षेतिपूर्ति भराउनका लागि र सार्वभौम देशका नागरिकलाई दोश्रो देशको सैनिकजस्तो गरी संवेदनशिल सेवामा लगेर तेश्रो देशबिरुद्ध लड्न पठाउन पाउने कि नपाउने भन्ने विषयमा केन्द्रीत रहेको बताए । उनले जिवित गोर्खा सैनिकले व्रिटिस नागरिक सरह अधिकार प्राप्त गरेपनि लडाईंका क्रममा वेपत्ता भएका तथा मृत्यू भएकाहरुको यकिन तथ्यांक नहुँदा क्षेतिपूर्तिसमेत नपाएकाले ति अधिकार प्राप्तिका लागि अबको लडाई अघि बढने उल्लेख गरे ।

गुरुङले तत्कालिन समयमा तलव, भत्ता तथा कुनैपनि सुविधा नदिई वर्षौंसम्म पनि दास बनाएर राखेकाले त्यसबिरुद्ध व्रिटिस सरकारलाई कस्तो अभियोग लगाउन सकिन्छ भनेर खोजीनीति गर्न समिति गठन गरि प्रतिवेदन तयार पार्नेपनि जानकारी दिए । उनले अबको आन्दोलन तत्कालिन समयमा गाउँ नै खाली गरि उर्जाशिल युवाहरु युद्धमा लैजाँदा नेपालको उत्पादनमा कति ह्रास आयो र यसले नेपालको अर्थतन्त्रमा के कति क्षेति पुग्यो भन्ने निक्र्यौल गर्नका लागि अर्थविद्हरुको समिति बनाई त्यसले दिएको प्रतिवेदनका आधारमा व्रिटिस सरकारसँग क्षेतिपूर्ति दाबी गर्ने पनि उद्घोष गरे ।

गुरुङले तत्कालिन समयमा मंगोल जातिका गैरहिन्दू युवालाई व्रिटिस सेनामा लगेर उनीहरुलाई आ आफ्नो मौलिक धर्म, संस्कृतिलगायतका संस्कारहरु मान्न नदिई जबरजस्ती हिन्दू संस्कार संस्कृति अनुसरण गराएर मौलिक संस्कारविहिन् भएकाले त्यसबिरुद्ध व्रिटिस सरकारलाई के कस्तो कार्वाही गर्न सकिन्छ भनेर छानविन गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदन अनुसार कार्वाही अघि बढाउन अबको आन्दोलन केन्द्रीत गर्ने जानकारी दिए ।

साथै उनले युद्धपछि नेपालको भूभाग भारतमा गाभीदिएकाले त्यो न्यायोचित थियो कि थिएन भन्ने निक्र्यौल गर्नका लागि कुटनीतिज्ञ, राजनीतिज्ञ र परराष्ट्रविद्हरुसँग छलफल गरी प्रतिवेदन बनाउनेपनि बताए ।

पत्रकार सम्मेलनमा बोल्दै गुरुङले विश्वसामु व्रिटिस सरकारलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरे । व्रिटिसले गोर्खालीको शोषण र आत्मा नमनसाएकै कारण अहिले त्यसबिरुद्ध आन्दोलन गर्नुपरेको बताउँदै उनले भने,‘अब म विश्वमा राँको बाल्छु, व्रिटिस सरकारलाई घुँडा टेकाएरै छाड्छु ।’

गुरुङले व्रिटिस सेनामा भर्ना भएर अन्य मुलुकमा लडाईं लड्न पठाउनु तथा व्रिटिसको उपनिवेश भएका देशमा मात्र लागू गरिने कमल वेल्थ नेपालको हकमा पनि लागू गरेकाले व्रिटिसले नेपाललाई उपनिवेशकै रुपमा हेरिरहेको दाबी गरे । उनले व्रिटिस सेनामा भर्ती भएकाहरुबाट नेपाललाई कुनै फाइदा नहुने भन्दै भने,‘अहिले व्रिटिस सेनामा भर्ना भएका नेपालीलाई त्यहाँको नागरिक सरह सेवा सुविधा दिईन्छ र त्यहिंको नागरिकता दिएर बसोबास गर्ने सुविधा पनि छ, त्यसैले उनीहरु सेनामा भइसकेपछि नेपाल फर्केर आउँदैनन् र रेमिटान्सपनि पठाउँदैनन्, बरु नेपालमा भएका बुबा आमालाईसमेत उतै बोलाउँछन्, यसले नेपालको युवा पलायन गराउनुका साथै कमाईपनि व्रिटिसलाई नै हुने भयो, यसले नेपाललाई केहिपनि फाइदा छैन, बरु नेपालमा हुर्काउन, बढाउन र पढाउनका लागि भएको लगानीसमेत खेर जान्छ ।’ उनले अहिले युवतीहरुलाईसमेत व्रिटिस सेनामा भर्ती खोलेर नयाँ उल्का मच्चाउन अर्को अस्त्र फालेको टिप्पणी गरे । व्रिटिस सेनामा भर्ना भएर तेश्रो मुलुकसँग लडाईं लड्न जानु कत्तिको उचित भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा गेसो आन्दोलनका अभियन्ता पदमबहादुर गुरुङको पक्षमा उनका समर्थहरुले ‘वीर पदमबहादुर कि जय’ भन्दै जयजयकारसमेत गरेका थिए ।

गेसो आन्दोलनका पश्चिम कमाण्डर हर्कबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति चन्द्रबहादुर गुरुङ भने अनुपस्थित थिए । उनी आन्दोलनको विपक्षमा भएकाले अनुपस्थित भएको बताइएको छ । उसो त चन्द्रबहादुरकै कारण गोर्खा स्मारक निर्माणमा ढिलाइ भइरहेकोसमेत पदमबहादुर पक्षको आरोप छ ।

You might also like

Comments are closed.