शुभम सहकारीको अध्यक्षमा न्यौपाने, उत्पादनशिल क्षेत्रमा लगानी गर्न सचिव श्रेष्ठको आग्रह

पोखरा, ३ भदौ ।

पोखराको शुभम बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरामा सम्पन्न भएको छैटौं बार्षिक साधारण सभाले बिष्णुहरी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष न्यौपानेले आशिष सिंहलाई निर्वाचनमा पराजित गर्दै नयाँ नेतृत्वको जिम्मेवार पाएका हुन ।  यस अघि न्यौपाने संस्थाको कोषाध्यक्ष र सिंह उपाध्यक्ष पदमा रहेका थिए । त्यसै गरी अन्य पदको भने सर्वसम्वत चयन गरिएको निर्वाचन कमिटिका संयोजक पदमपाणि देवकोटाले बताए ।

संस्थाको उपाध्यक्षमा सुर्य प्रसाद पौडेल, सचिवमा तोयनाथ आचार्य, सह–सचिबमा नविन पौडेल, कोषाध्यक्षमा राजन पन्त, सह कोषाध्यक्षमा शिव बहादुर काफ्ले र सदस्यहरुमा पुर्ण कला घर्ति, चिनु कुमारी गुरुङ, सिता देवि बराल, ढाकामोहन बराल र होमराज भट्टराई रहेकाछन् । लेखा समिति संयोजकमा भने कृष्ण पोख्रेल रहेका छन् भने ज्ञानेन्द्र थापा र देवी प्रसाद देवकोटा सदस्य रहेकाछन् ।

गण्डकी प्रदेशका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरद चन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै एक सहकारी एक उत्पादनमा जोड दिएकाछन। सचिव श्रेष्ठले बचत ऋण सहकारी बढी भएकोले त्यस्ता सहकारीले पनि अब उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । मन्त्रालयले प्रदेशका सहकारीको मुल्याङकन सहित पुरस्कारको समेत व्यबस्था गरेको बताउदै उनले सहकारी सूचना केन्द्र स्थापना गर्ने तथा प्रदेशमा मोडल फार्मको रुपमा विकास गर्न चाहेको बताए ।

जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछानेले सहकारीहरुले अझै पनि कृषि उत्पादन गरी बजारीकरण गर्न नसेको बताए । पोखरा महानगरपालिका तथा गण्डकी प्रदेशले नयाँ सहकारी ऐन ल्याउने तयारी गरेको उनले जनाए । कास्की जिल्ला बचत संघका लेखा संयोजक रुद्रनाथ पौडेलले सहकारी ऐन अनुसार चल्न सहकारीलाई आग्रह गरे ।

उक्त अवसरमा उत्कृष्ट कारोवार शेयर सदस्यबाट चिनु कुमारी गुरुङ र नविन पौडेल, जेष्ठ सदस्यबाट पदमपाणि देवकोटा, जेष्ठ सदस्य महिला तर्फ खुमा कुमारी उपाध्याय, उत्कृष्ट ब्यबस्थापकमा संस्थाका ब्यबस्थापक ढाकामोहन (गणेश) बराल सम्मानित भएकाछन् । संस्थाका अध्यक्ष चुडामणि बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहकारी समाज नेपालका अध्यक्ष डिल्लीराम बराल, संस्थाका उपाध्यक्ष आशिष सिंह, सचिव सुर्य प्रसाद पौडेल लगायतले सहकारी मैत्रि निती आवश्यक भएको बताए ।

संस्थाले आर्थिक बर्ष २०७४÷०७५ मा ३० लाख ८८ हजार ३ सय ८५ रुपैया खुद नाफा गर्न सफल भएको छ । अघिल्लो बर्ष संस्थाले ७ लाख ७४ हजार ६ सय ३० रुपैया नाफा कमाउन सफल भएको थियो । संस्थामा हाल २ हजार ३ सय ७५ जना शेयर सदस्य रहेकाछन। संस्थाको शेयर पुंजी ४ करोड एक लाख १३ रहेको छ । अघिल्लो बर्ष संस्थाले ८ करोड ३२ लाख ४३ हजार ४ सय ९२ रुपैयाको आर्थिक कारोवार गरेकोमा यस बर्ष भने १४ करोड ६६ लाख ९३ हजार २ सय ७८ रुपैयाको कारोवार गरेको ब्यबस्थापक ढाकामोहन बरालले बताए । ३८ जना शेयर सदस्यबाट ७२ लाख २५ हजारको पुंजी संकलन गरी संस्थाले कारोवार सुरु गरेको थियो ।

You might also like

Comments are closed.