श्रीमान, म जीउँदै छु…रवि लामिछाने

काठमाडौं, २० पुस । चर्चामा रहेका पत्रकार रवि लामिछानेले आफ्नै व्यक्तिगत जीवनका बारेमा खुलाशा गरेका छन् । पूर्व पत्नीका बारेमा केन्द्रित रहेर उनले फेसबुक मार्फत केही तथ्य सार्वजनिक गरेका छन् ।

पढौं उनले फेसबुक आर्फत सार्वजनिक गरेका धारणा

श्रीमान, म जीउँदै छु…
नचाहदा नचाहदै पनि आफ्नो व्यक्तिगत कुरा गर्नुपर्यो। मलाई पाइलै पिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजी जीवनमा प्रवेश गर्ने प्रयास हुँदै रहेछ। लामो समयसम्म वैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछि कानुनी रुपमा नै अलग भएको मेरो वैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजी जीवनबारे लेख्न बाध्य भएको छु। मेरी पूर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणित गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिला पनि भनेकै थिए कि टाइम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताइदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाँच्नु छैन र म त्यति आदर्शवान मानिस पनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिएँ र हालसालै मेरो सम्बन्ध बिच्छेद पनि भैसकेको छ। तर बर्षौसम्म मतभेद, अलग बसाई र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पूर्व पत्निले आफू मबाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न। लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जान्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकाले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु।

अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक विदेशी प्रेमिकासँग पनि बसेको थिएँ ।६/७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न। मलाई त ब्यक्तिगत विषयमा एक शब्द पनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जीवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा Status हुनेछ। हेडलाइन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन। मान्छे दुनियाँसँग लड्न सक्छ तर आफन्तसँग सक्दैन। अमेरिका मै रहँदा अलग बसेका हामी बिगत १० वर्षदेखि नै अलग छौ। कारण र घट्ना एउटा होइन अनेक छ्न। जति छ्न ती अत्यन्तै लाज मर्दा छन। ती विदेशी मुलकी पूर्व प्रेमिका र मेरो बिचमा एक सन्तान पनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो। हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र। तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन। ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामीले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाइएछ। अब तपाईं सङ के बाँकी छ त? मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु।कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पूर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखिए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानैदेखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जीवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र। अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पूर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशनको शिकार नै भएको थिएँ। माया र बिश्वास वर्षौसम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन।अब मसङ बाँकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो “नकाब” उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पूर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछि) आफू नेपाल बसेर,सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु।अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन।अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु। कसैमाथि अन्याय नगरी म आफू माथि पनि न्याय गर्न चाहन्छु। म भागेको छैन, प्रत्येक मंगलबार बिहीबार र शनिबार राति ८:४५ मा news 24 टेलिभिजनमा प्रत्यक्ष आउछु। भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।

You might also like

Comments are closed.