संकिर्णता भन्दा माथि उठेर देश निर्माणमा जुट्न प्रधानमन्त्रीको अपिल

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्णता भन्दा माथि उठेर देश निर्माणमा जुट्न अपिल गरेका छन् । नेपाल स्काउटको आयोजनामा शनिबार पोखरामा शुरु भएको ‘प्रथम रोभर मुट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा संकिर्णता र नकारात्मकताले जरा गाडेको भन्दै त्यसभन्दा माथि उठेर देश निर्माणमा जुट्न आग्रह गरेका हुन् ।

विदेशमा राष्ट्र र राष्ट्रियतालाई पहिलो प्राथमिकता दिइने गरेको भएपनि नेपालमा कुनैपनि सम्मान गर्नुपर्छ भन्यो भने आफ्नो अपमान भएजस्तो ठान्ने प्रवृत्ति हावी भएको छ–उनले भने,‘संविधानको सम्मान गर्छु भन्दा आफ्नो कद घटेको ठान्ने, म अनुशासित भएर चल्छु भनेर भन्दा मेरो त स्वतन्त्रतानै खोसिहाल्यो भन्ने ठान्ने, म कर्तब्यनिष्ठ हुन्छु भनेर भन्दा मेरो स्वतन्त्र हक नै खत्तम भयो भन्ठान्ने, म देशलाई माया गर्नुपर्छ भन्दा मेरो पहिचानै समाप्त भइगो नि भन्ने, यस्ता प्रवृत्तिहरु छन्, त्यसैले यस्ता प्रवृत्तिहरु भन्दा माथि उठेर संकिर्णता भन्दा माथि व्यापकतामा गएर राष्ट्र निर्माणको काममा जुट्नुपर्छ ।’ उनले यस्ता प्रवृत्तिबिरुद्ध नेपाली युवाहरु जो देशभक्त, कर्तव्यनिष्ठ, योग्य, प्रतिभावान र सक्षम हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले नेपालमा राम्रो काम गर्दापनि बिरोध गर्ने र एकता हुन नदिने काम भइरहेको बताए । हाम्रो देशमा अनावश्यक र अनुचित ढंगले राम्रा कामहरुको पनि बिरोध गर्ने नकारात्मक प्रवृत्ति छ–उनले भने,‘एकता हुन नदिने, एकतालाई भाँड्न खोज्ने, त्यस प्रकारका फाटो ल्याउन प्रवृत्ति छ, राष्ट्रिय भावना भन्दा क्षेत्रीय, जातीय वा अनेक प्रकारका संकिर्ण भावनाहरु छन्, तर त्यस प्रकारका भावनाहरु भन्दा माथि उठेर हाम्रो एउटा भेष, एउटा राष्ट्र, एउटा देशको एउटा सरकार त्यो सरकारले जनताको सार्वभौमसत्तालाई सहज ढंगले उपयोग, उपभोग गर्दै त्यसकोआधारमा जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा सरकार छ ।’ सोहि जगमा टेकेर सरकार कानुको राज र स्वच्छ समाज निर्माण गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने आकांक्षामा रहेको बताए । यसका लागि सक्षम, स्वस्थ, अनुशासित र जिम्मेवार नागरिकहरु आवश्यक रहेको र यो निर्माणका लागि स्काउटले सहयोग गर्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाललाई झगडाको अखडा बनाउने कि शान्तिको थलो भन्ने प्रश्न गरेका छन् । झगडा गरेरै अस्वस्थ्यतामा रुमलिएर बाँच्ने कि एउटा स्वच्छ ,स्वतन्त्र समाज निर्माण गर्ने ?–उनले भने,‘सभ्य समाज निर्माणमा जानुपर्छ, त्यसका लागि स्काउट उपयुक्त छ ।’ उनले युवाहरुलाई खराब कुराहरु चाखि हालौँ न भन्ने प्रवृत्ति त्याग्न आग्रह गरे । उनले ब्यबहारले नै स्काउटको पहिचान बनाउन सुझावसमेत दिए ।

You might also like

Comments are closed.