आर्थिक आवाज
पोखरा, २३ चैत । कास्कीमा बिगत लामो समयदेखि संचालनमा रहेका २ सहकारी संस्था एकीकरण भएका छन् । २०६१ साल वैशाखबाट कारोबार सुरु गरी २०६४ चैत्रबाट विधिवत् दर्ता गरी पोखार–१५, रामबजारबाट आफ्नो सेवा प्रदान गरिरहेको संगम बचत तथा ऋण सहकारी संस्था लि. र २०६५ असोजबाट विधिवत दर्ता गरी पोखरा–४, गैह्रापाटनबाट आफ्नो सेवा प्रदान गरिरहेको सुगम बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण भएका हुन् । दुवै सहकारीको एकीकरण घोषणा सभा शनिबार पोखरामा सम्पन्न भएको सहकारीका वरिष्ठ व्यवस्थापक अपिल कोइरालाले जानकारी दिए । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाल सरकार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को संयुक्त आयोजनामा सञ्चालित गुणस्तरीय साकोस सुनिश्चतता कार्यक्रम (प्रोवेशन)मा आवद्व भई ८ औं कार्यकुशलता कार्यशाला गोष्ठी सम्पन्न गरिसकेको संगम साकोसमा हालसम्म २ हजार ६ सय जनाश ेयर सदस्य छन् । कास्की जिल्ला भरी कार्य क्षेत्र रहेको संस्थाको ७ करोड शेयरपुँजी छ । कोषहरुमा २ करोड ५० लाख र ३७ करोड वासलात छ । सुगम साकोसमा हालसम्म शेयर सदस्य ८ सय जना छन् । कार्यक्षेत्र पोखरा म.न.पाका ५ वटा वडाहरु छ । रु २ करोडको शेयर पुँजी र ५ करोडको वासलात छ ।
एकीकरण पश्चात संस्थाको नाम संगम बचत तथा ऋण सहकारी संस्था लि. राखिएको छ । एकीकरण पश्चात संस्थाको कुल सदस्य ३ हजार ४ सय जना पुगेका छन् । कुल बचत २९ करोड कुल ऋण लगानी ३१ करोड कुल शेयर पुँजी ९ करोड, कोषहरुमा २ करोड ६० लाख र वासलात ४१ करोड छ । समुदायमा आधारित दीगो संस्था र समृद्ध सदस्य बनाउने अभियानको साथ एकीकरण शुरुवात गरिएको अध्यक्ष नीरज थापाले बताए । ‘यसले आगामी दिनमा अन्य सहकारी संस्थाहरुलाई पनि मार्गदर्शन गर्ने नै छ,’ उनले भने, ‘सहकारी संस्थाहरु संख्यात्मक भन्दा गुणात्मक हुनेछन् भन्ने हाम्रो विश्वास छ ।’
Comments are closed.