संघका मनोनित ४ जनाले लिए सपथ, असन्तुष्ट पक्षद्वारा बहिस्कार

सन्देश श्रेष्ठ
पोखरा, फागुन

पोखरा उद्योग वाणिज्य संघका मनोनित ४ जनाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । संघका अध्यक्ष दामु अधिकारीले मनोनित ऐनकुमार साई, रामबहादुर केसी, देवेन्द्र केसी र शिवराज आचार्यलाई सपथ खुवाएका हुन् । सपथ खाएलगत्तै चारै जनालाई खादा र माला लगाएर बधाई ज्ञापन गरिएको थियो ।

यसैबीच, पोखरा उद्योग वाणिज्य संघका थपिएका ४ सदस्यको पदस्थापन असन्तुष्ट पक्षले बहिस्कार गरेका छन् । बोर्ड बैठकमा छलफल नगरी संघका अध्यक्ष दामु अधिकारीले मनोमानी रुपमा सदस्य मनोनित गरेको भन्दै नोट अफ डिसेन्ट लेख्ने कार्य समिति भित्रकै असन्तुष्ट पक्षले पदस्थापन बहिस्कार गरेका हुन् । मनोनित गर्दा १६ जनाले नोट अफ डिसेन्ट लेखेपनि पदस्थापन भने १५ जनाले मात्र बहिस्कार गरे ।

नोट अफ डिसेन्ट लेख्ने मध्येका संघका उपाध्यक्ष पवनकुमार प्रजापती भने पदस्थापनमा उपस्थित भएका थिए । असन्तुष्ट पक्षका अन्यले पदस्थापन बहिस्कार गरिरहँदा प्रजापती भने मञ्चमै आसनग्रहण गरेर बसेका थिए । संघका महासचिव अर्जुन पोखरेलले बहुमतको कदर नगरी मनोनित गरिएकाले आफूहरुले विरोध जनाउँदै नोट अफ डिसेन्ट लेखेको र त्यसलाई निरन्तरता दिदै आइतबारको पदस्थापन कार्यक्रम बहिस्कार गरेको बताए ।

पोखरेलले आइतबार पदस्थापन भएका २ जनाले सदस्यता लिएको २ वर्ष नपुगेकाले उनीहरुको पदस्थापन विधान विपरित भएको दाबी गरे । उनका अनुसार दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्महाउसका शिवराज आचार्यले संघको सदस्यता लिएको २ वर्ष नपुगेकाले विधान विपरित पदस्थापन भएका २ जनाको पद खारेज गर्न माग गरे । उनले विधान विपरित मनोनित २ जनाको पद खारेज नभए कानूनी उपचार खोज्नेपनि चेतावनी दिए ।

You might also like

Comments are closed.